सुदूरपश्चिम प्रदेश : अधिवेशनलगत्तै एमाले नेता–कार्यकर्तामा कोरोना संक्रमणको लहर

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । उनी पुसको तेस्रो हप्तादेखि गृहजिल्ला बैतडीको जिल्ला सम्मेलनमा सहभागी भएका थिए ।

बैतडीमा आमसभा गरेर नेकपा एमालेले जिल्ला अधिवेशनको उद्घाटन गरेको थियो । ‘टाउको दुखेको छ, ज्वरो र खोकी आएपछि कोरोना जाँच गराए, पोजिटिभ आएको छु, नेता भण्डारीले भने । उनी धनगढीमा आफन्तको घरमा होम आइसोलेसनमा बसेका छन् ।

यस्तै, एमाले कैलाली जिल्ला इञ्चार्ज नारदमुनि रानालाई पनि कोरोना पुष्टि भएको छ । उनी तीन दिनदेखि होम आइसोलेसनमा छन् । उनलाई कोरोनाका लक्षण देखिएपछि जाँच गराउँदा पोजिटिभ देखिएको हो । उनी पनि धनगढीस्थित आफ्नै घरमा होम आइसोलेसनमा छन् ।

कैलाली जिल्ला अधिवेशनमा जिल्ला सदस्यमा विजयी भएका अनेरास्ववियुका नेता चूडामणि भट्ट पनि कोरोनाबाट संक्रमण भएर होम आइसोलेसनमा छन् ।  ज्वरो र खोकी लागेपछि कोरोना जाँच गराउँदा उनमा कोरोना देखिएको हो ।

नेकपा एमालेको कैलाली जिल्ला अधिवेशनमा निर्वाचन अधिकृत रहेका नेता चक्र तिमिल्सिनालाई पनि कोरोना देखिएको छ । तिमिल्सेन पनि कोरोनापछि होम आइसोलेसनमा बसेका छन् ।

नेकपा एमालेको जिल्ला कमिटी सदस्य जितेका अत्तरियाका गणेश साउदलाई पनि कोरोना संक्रमण देखिएको छ । उनी पनि होम आइसोलेसनमा बसेका छन् ।



कञ्चनपुरमा नेकपा एमालेको जिल्ला सदस्य जितेका गजेन्द्र चन्दले कोरोनाका कारण जिल्ला सदस्य पदमा शपथ लिन पाएनन् । पुस २९ गते कञ्चनपुरमा विजयी नेताको शपथग्रहण थियो । नेकपा एमालेका नवनिर्वाचित कञ्चनपुर जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट र जिल्ला सचिव पल्लबराज भट्ट पनि अस्वस्थ छन् ।

नेकपा एमालेको जिल्ला अधिवेशनमा समाचारका लागि गएका नागरिक दैनिकका ब्युरो प्रमुख दिलबहादुर छत्याल र अन्नपूर्ण पोस्टका ब्युरो प्रमुखलाई समेत कोरोना पोजिटिभ देखिएको छ । दुवैजना होम आइसोलेसनमा छन् ।



यस्तै, नेकपा एमाले कञ्चनपुरको ८ औं अधिवेशनमा सहभागी केही नेताहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । लक्षण देखिए पनि अधिकांशले परीक्षण भने गरेका छैनन् ।

एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट, उपाध्यक्ष लक्ष्मी बुढा, सचिव पल्बराज भट्ट, प्रतिनिधिसभा सदस्य तथा एमाले कञ्चनपुरका सहइन्चार्ज नरबहादुर धामी, निवर्तमान उपसचिव रणबहादुर महरालगायतका नेता–कार्यकर्ता अस्वस्थ छन् ।

उनीहरूमा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएका छन् । महाधिवेशनको थकाइ तथा चिसोले बिरामी परेको एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले दावी गरे ।

‘चिसो लागेको आभास भएको छ, महाधिवेशनको थकानका कारणले बिरामी परिएको होला,’ उनले भने, ‘सञ्चो नभए कोरोना परीक्षण गराउँछौँ ।’

प्रतिनिधिसभा सदस्य धामीले पनि कोरोना परीक्षण गराएका छैनन् । उनी घरमै आराम गरिरहेका छन् । ‘सामान्य रुघाखोकी, ज्वरो आएको छ,’ उनका स्वकीय सचिव अर्जुन भट्टले भने, ‘कोरोना परीक्षण गराउँछौँ ।’

एमालेका नेता तथा कार्यकर्तामा कोरोनाको लक्षण देखिए पनि उनीहरूले समान्य रुघाखोकी लागेको भन्दै कोरोना परीक्षण नगराएका हुन् । कैलाली र कञ्चनपुर प्रशासनले आदेशसमेत जारी गरेको छ । आदेश पालना भएको छैन । प्रशासनले जारी गरेको आदेश नागरिकले बेवास्ता गरेका छन् ।

प्रशासनले २५ जनाभन्दा बढी जम्मा हुने गरी भीडभाड नगर्न निर्देशन जारी गरेको छन् ।

कोरोनाको जोखिम भएको भन्दै कैलाली र कञ्चनपुर प्रशासन पुस २८ गते राति १२ बजेदेखि कार्यान्वयन हुने गरी १२ बुँदे आदेश जारी गरेको हो । तर, प्रशासनले जारी गरेका बुँदा भने कार्यान्वयन भएको देखिँदैन । प्रशासनले जारी गरेको निर्देशन औपचारिकतामै सीमित भएको छ ।

निर्णय कार्यान्वयन गराउन प्रशासन आफैँ असफल देखिएको छ । बुँदामा एकै स्थानमा भौतिक रूपमा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने, कुनै पनि प्रकारका सभा, मेला र जात्रासमेत गर्न नपाउने आदेश छ । तर, यो विषय कहीँकतै पालना भएको छैन । आदेश पालना गर्नु त परको कुरा हो तर, मास्क र सेनिटाइजरसमेत प्रयोग गर्न छोडेका छन् ।

आइतबार प्रदेशभर १८४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

आइतबार मात्र सुदूरपश्चिममा १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ४८७ जनाको परीक्षण गरिएको हो । संक्रमण पुष्टि भएका जनामध्ये १७२ जना भारतबाट आएका नागरिक हुन् । स्वास्थ्य निर्देशनालयका अनुसार ७ जनाको पीसीआरमार्फत र १७७ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । 

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७२, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ९२, जुलाघाटबाट फर्केका ७ जना र दार्चुलाको जोलजिवी नाकामा १ जनामा संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमका नाका भएर आइतबार एक हजार ६९७ नेपाली स्वदेश फर्केका छन् । यस्तै, पछिल्लो २४ घण्टामा बाजुराका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–२ का ५२ वर्षीय पुरुषको होम आइसेलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १८:११:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया