ओलीले दायर गरेको रिटमा आज सुनुवाइ हुने

नेकपा (एकीकृत समाजवादी) पार्टीको वैधानिकता बदर गर्न र उक्त पार्टीमा रहेका १४ जना सांसदलाई पदमुक्त माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज(सोमबार) सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको हाे ।

ओलीले १७ भदौमा यो रिट दायर गरेका हुन् । २२ भदौमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले ओलीको माग अनुसार अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो । 

बरु, ९ भदौमा नेकपा (एकीकृत समाजवादी) बनाउने निर्वाचन आयोगको निर्णय झिकाउन भने आदेश दिएको थियो । 

रिटमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गर्दै पदमुक्तका लागि गरेको सिफारिसअनुसार कारबाही नगरेको र एमालेलाई विभाजन गर्न मुख्य भूमिका निर्वाह गरेको ओलीले जिकिर पनि गरेका छन् ।

निर्वाचन आयोगले पनि गैरकानुनी रूपमा दल दर्ता गरेको पनि ओलीको रिटमा उल्लेख छ । एमाले केन्द्रीय कमिटी बैठकले साउन २५ मा झलनाथ खनालसहितका सांसदहरूलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्राचार गरेको थियो ।



कारबाहीका कारण २७ वैशाखमा पार्टी संसदीय दलको निर्देशनविपरीत तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीलाई विश्वासको मत दिन अनुपस्थित भएको भनिएको थियो ।

तर, सभामुख सापकोटाले पदमुक्त गर्न गरेको पत्राचारलाई बेवास्ता गरेका थिए । सोहीकारण, नेपालले ९ भदौमा निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिए । निवेदनअनुसार दल दर्ता भयो । 



दलको दर्तापछि मात्रै सभामुख सापकोटाले दल दर्ता भइसकेकाले आवश्यक कारबाही गरिरहनु परेन भन्दै सूचना टाँस गरेका थिए ।

त्यही भएर ओली निर्वाचन आयोगसँगै सभामुख सापकोटालाई पनि विपक्षी बनाएर सर्वोच्च पुगेका हुन् ।
 

  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १२:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया