कोरोना नियन्त्रणका लागि कर्णाली सरकारको सात करोड

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रणका लागि सात करोड छ लाख रुपैयाँ मातहतका स्वास्थ्य संस्थाहरूमा पठाएको छ । 

भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’  नियन्त्रणका लागि सरकारले जिल्ला लगायतका विभिन्न स्वास्थ्य संस्थाहरूमा सात करोड छ लाख रुपैयाँ पठाएको हो ।

एम्बुलेन्स खरिदका लागि प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र स्वास्थ्य सेवा कार्यालय सल्यानमा प्रति अस्पताल २० लाखका दरले ८० लाख पठाइएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।  

यसैगरी शववाहन खरिद गर्न स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय कालिकोट, स्वास्थ्य सेवा कार्यालय सल्यान र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई प्रति अस्पताल १२ लाखका दरले ४८ लाख, प्रदेश अस्पताल सुर्खेतको मेसिनरी औजार (अनलाइन युपिएस सिस्टम) खरिदको लागि ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतको लागि आवश्यक मेसिनरी औजार खरिदको लागि दुई करोड तथा पञ्चपुरी नगरपालिका सुर्खेतको कोभिड -१९ व्यवस्थापकीय खर्चका लागि १० लाख गरी २ करोड ४८ लागि रुपैयाँ पठाइएको शाहीले जानकारी दिए । 

सोमबार कोभिड संक्रमण प्रतिकार्यका लागि सरकारको तयारी विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरूमा कोरोना प्रतिकार्यका लागि बजेट पठाइएकाे जानकारी दिएका हुन् । 

त्यस्तै जिल्लास्थित विभिन्न स्थानीय तहहरूमा कर्णाली प्रदेशबाट स्थापना भई संचालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य एकाइहरूका लागि प्रति एकाइ पाँचलाखका दरले ३ करोड ३० लाख रुपैयाँ समेत पठाइएको जानकारी शाहीले दिए । 



यसका अलवा प्रदेशभर आठवटा अक्सिजन प्लान्ट, कर्णाली प्रवेशका तीन मुख्यद्वार सुर्खेतको कुइने, बबई र सल्यानको कपुरकोटमा चेकजाँच तथा आइसाेलेसन र क्वारेन्टिनको समेत व्यवस्था गरिएको उनले बताए । 
 



  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १५:१०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया