कांग्रेस, नेकपा एस र एमालेका सांसदले आफ्नै पार्टीको प्रस्तावविरुद्ध मतदान गरेपछि बन्यो ‘मधेस प्रदेश’

प्रदेश २ को नाम ‘मधेस प्रदेश’ दुईतिहाइभन्दा बढी मतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश राख्ने प्रस्ताव बहुमतका साथ पारित गरेको हो । नामकरणका लागि भएको मतदानमा ९९ सांसद सहभागी भएकामा ८० जनाले मधेसको पक्षमा मतदान गरेका थिए ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा प्रदेशको नाम मधेस प्रस्ताव गरेका थिए । यसको प्रस्तावक थिए, शैलेन्द्रकुमार यादव र भरतप्रसाद साह । 

जसपाका ३९, माओवादी केन्द्रका ८ र लोसपाका १६ गरी ६३ जना सांसद मधेस प्रदेशको पक्षमा थिए । १ जना सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसैमा समर्थन जनाएको थियो ।

प्रदेशको नामकरण र राजधानीका लागि सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निष्कर्ष निकालिएको थियो । विशेष समितिले ६ बुँदे निष्कर्षसहित आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदन पेस गरेको थियो । 

समितिले राजधानीका लागि ३ र नामकरणका लागि ४ वटा प्रस्ताव राखेर बाँकी प्रस्ताव खारेज गरेको थियो ।

१९ जना सांसद रहेको कांग्रेसले ‘मिथिला भोजपुरा’, १३ जना सांसद रहेको नेकपा एकीकृत समाजवादी र ८ जना सांसद रहेको नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेस’ नाम प्रस्ताव गरेका थिए ।



अन्य दलका १६ जना सांसदले पनि मधेसको पक्षमा मतदान गरेका छन् । यस हिसाबले अंकगणित हेर्दा कांग्रेस, नेकपा एस र एमालेका सांसदले आफैँले दर्ता गराएको प्रस्तावको पक्षमा मतदान नगरेको देखिएको छ ।
 
कुल ६४ मत मात्रै मधेसको पक्षमा देखिएको थियो । जुन दुईतिहाइ मतभन्दा ६ मत कम हो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एसकै केही प्रदेशसभा सदस्यले मधेसको पक्षमा मतदान गरेपछि ८० मत खसेको हो ।
 
कांग्रेस, एमाले र नेकपा एसका प्रदेशसभा सदस्यहरुले मधेसको पक्षमा मतदान गरेपछि आफ्नै दलको प्रस्तावलाई निष्क्रिय बनाउन भूमिका खेलेका थिए । कांग्रेसले मिथिला भोजपुरा, एमाले र नेकपा एसले जानकी प्रस्ताव पेस गरेका थिए ।
 
स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसको पक्षमा अन्य दलका प्रदेशसभा सदस्यहरुसँग मतदान गर्न आग्रह गरेकाले यसको पक्षमा दुईतिहाइ मत पुगेको हो ।

प्रदेशसभाले स्थायी राजधानी समेत जनकपुरधामलाई टुंगो लगाएको छ । सोमबार बसेको पहिलो बैठकमा भएको मतदानमा ७८ जना सांसदले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।



प्रदेशमा १०४ जना सांसद रहेकोमा उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये ७८ जनाले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।

प्रदेशसभा बैठकमा प्रतिनिधित्व गरेका दलहरूको तर्फबाट संयुक्त रूपमा प्रस्ताव पेस भएपछि जनकपुरधाममा मतदान प्रक्रिया सुरु भएको थियो ।

प्रदेश सांसद परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्रप्रसाद कुशवाहा, शारदादेवी थापा र भरतप्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केबर र पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेस गरेपछि मतदान भएको थियो ।

स्थायी राजधानीका लागि जनकपुरधाम (उत्तरमा ढल्केबरस्थित पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमा) पहिलो प्रस्ताव राखिएको थियो । 

त्यस्तै, राजधानीकै लागि वीरगन्ज (पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म) राख्ने पनि प्रस्तावसमेत गरिएको थियो । वीरगन्ज महानगरपालिकालाई राजधानीको रुपमा समेत प्रस्ताव गरिएको थियो ।

यसअघि २०७६ चैत ३ मा भएको मतदानमा प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न सकिएको थिएन ।

  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १९:७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया