दुई रुपैयाँ सस्तोको लोभमा कोरोना जोखिम मोल्दै

कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियाका महादेव अवस्थी घरायसी सामान लिनका लागि सोमबार सीमावर्ती बजार वनगाउँ गए । 

कोरोनाको जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि उनी सीमाबाट १५ किलोमिटर टाढा गाडीमा भएर वनगाउँ गएका हुन् ।

‘कोरोना भन्ने त छ तर, के गर्नु त्यहाँ सस्तो पाइन्छ । त्यसैले त्यहीबाट सामान लिन्छौँ’, उनले भने, ‘रोगभन्दा पनि हामीलाई सस्तो सामग्री चाहिएको छ ।’

यहाँका स्थानीय बजारमा महँगो सामान पाइने भएकाले भारत जानुपरेको धनगढीका धर्मराज जोशीले बताए । 

‘यहाँ एक किलो आलु पाउने पैसामा भारतीय बजारमा २ किलो आउँछ । त्यसैले यता महँगो हुने भएपछि भारत जान लागेका हौँ । कोरोनाले सामान्य व्यवसायीहरू मर्कामा परेका छन्’, उनले भने ।

स्थानीयहरू चिनी, तेल, दाललगायत दैनिक उपभोग्य अन्य घरायसी प्रयोगका सामान किन्न सीमावर्ती भारतीय बजार पुग्ने गर्छन् । भारतीयहरू भने चिसोमा तयारी कपडा किन्न यहाँ आउँछन् । 



यसरी आउने-जानेको न कोरोना परीक्षण हुन्छ, न उनीहरूले खोप लगाए/नलगाएको हेरिन्छ । निर्वाध ओहोरदोहोर हुँदा कोरोना संक्रमण फैलने जोखिम बढेको छ । 

नाकामा व्यवस्थित नगर्दा संक्रमण समुदायस्तरमै पुग्न थालेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । त्यसरी आउन-जान रोक्नुपर्ने उनीहरूको सुझाव छ ।



त्रिनगर-गौरीफन्टा नाका, गड्डाचौकी र खक्रौलासँगै अवैध नाका भएर पनि दैनिक रूपमा किनमेलका लागि नेपालीहरू सीमा बजार पुगेका छन् । राज्यले कोरोना संक्रमण बढेको भन्दै विद्यालयसमेत बन्द गरेको अवस्थामा सीमा पारिको बजारमा सहजै आवतजावत गरिरहेका छन्।

दैनिक उपभोग्य सामग्री खरिद गर्नेदेखि सीमा बजारबाट क्याटरिङ गर्नेको पनि घुइँचो उत्तिकै हुन्छ। भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि रोजगारीका लागि फर्किने नेपालीको पनि नाकामा भीड हुने गरेको छ । सोही भीडमा दैनिक उपभोग्य सामग्री खरिद गर्ने र क्याटरिङ गर्नेहरू पनि लाम लागेर आउँछन् । 

भारतबाट आऊजाऊ गर्ने यात्रु बोकेको सवारीमै किनमेलका लागि जाने नेपालीले पनि आवागमन गर्ने गरेका कारण जोखिम बढेको त्रिनगर गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले बताए। 

उनले भने, ‘भारतबाट आउनेहरूको मात्रै कोरोना परीक्षण भइरहेको छ । तर, यहाँ सामान्य रूपमा आवतजावत गर्ने धेरै छन् । उनीहरूले भारतबाट आउनेहरूकै सवारीसाधनमा आऊजाऊ गर्दा जोखिम निम्तिएकाे छ ।’

सुदूरपश्चिममा कोरोना भाइरसको ग्राफ निरन्तर उकालोलाग्दाे छ । भारतीय सीमा नजिकका बजारमा किनमेल गर्ने नेपालीको घुइँचो उत्तिकै छ । त्रिनगर-गौरीफन्टा नाका भएर मात्रै दैनिक सयौँ नेपाली किनमेलका लागि सीमा बजार पुगिरहेका हुन्छन् । 

स्थानीय प्रशासनले अहिले कैलाली र कञ्चनपुरमा विभिन्न आदेश जारी गरेको छ । शैक्षिक संस्था बन्द गरिएको छ भने २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । तर, सबैभन्दा बढी जोखिम भारतबाटै भएको अवस्थामा त्यहाँ आवागमन गर्दा कुनै रोक छैन । 

सीमा नाका बन्द गर्न संघीय सरकारको आदेश आवश्यक भएकाले त्यसमा जिल्लाले केही गर्न नसक्ने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी अशोककुमार भण्डारीले बताए ।

सीमामा हुने भीडभाडलाई नियन्त्रण गर्न तथा केही व्यवस्थापन गर्न आफूहरूले विभिन्न काम गरिरहेको उनले दावी गरे । 

किनमेलका लागि जानेहरूको रेकर्ड राख्ने गरिएको छैन । नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार दैनिक दुई-तीन सयजना किनमेलका लागि सीमावर्ती बजार पुग्ने गरेका छन् । 

‘चाडवाड भएकाले अस्तिसम्म दैनिक ५-६ सयजना जाने गर्थे, हिजोआज पनि सामान किनेर फर्कने गरी दिनमा दुई-तीन सयजति भारतीय बजार जान्छन्,’ नाकामा खटिएका सशस्त्र प्रहरीका असई प्रेम खत्रीले भने, ‘किनमेल गर्न जानेको रेकर्ड राख्ने गरेका छैनौँ ।’

सीमावर्ती भारतीय क्षेत्रबाट काम गर्न आउने मजदुरमा पनि संक्रमण देखिन थालेको छ । भारतीय बजारमा दैनिक ठूलो संख्यामा नेपालीहरू किनमेलका लागि जाँदा संक्रमण ल्याएर आउन सक्ने जोखिम भए पनि नाका बन्द गर्ने विषय संघीय सरकारको भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

थप ३४५ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा सोमबार ३४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार २७५ जनाको कोरोना परीक्षण गर्दा ३४५ जनामा संक्रमण पुष्टि भएको हो । 

१०३ जनाको पिसिआरमार्फत् र २४२ जनाको एन्टिजेनमार्फत् परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांकले देखाएको छ । 

सोमबार संक्रमण पुष्टि भएकामध्ये १५४ जना आजै भारतबाट आएका नागरिक हुन् । त्रिनगर-गौरीफन्टा नाकाबाट भित्रिएका ९५, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५७ र जुलाघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिमका नाका भएर सोमबार एक हजार १६९ नेपाली स्वदेश फर्केका हुन् ।

  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार ७:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया