बैतडी हत्या प्रकरण : नवराजले पनि गरे हत्या गरेकाे स्वीकार

बैतडीको सुर्नया गाउँपालिका-६ खर्काधारका डम्मर अवस्थीको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका सोही ठाउँका नवराज अवस्थीले पनि हत्यामा संलग्न रहेको स्वीकार गरेका छन् । 

आइतबार नियन्त्रणमा लिएका नवराजलाई सोधपुछ गर्दा उनी पनि हत्यामा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

अब अदालतबाट म्याद थपेर उनीमाथि थप अनुसन्धान गरिने ओझाकाे भनाइ छ ।

उनले भने, ‘अहिलेसम्म डम्मरको हत्यामा दुईजना संलग्न रहेको स्वीकार गरिसकेका छन् । हामी उनीहरूमाथि थप अनुसन्धान गरिरहेका छौं ।’

यसअघि सोही ठाउँका हरिश अवस्थीले पनि डम्मरको हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन् । 

गएको मंसिर १४ गतेबाट हराएका डम्मरको शव गत बुधबार स्थानीय धुरा जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको थियो । उनको शव हत्या गरी गुफामा गाडेको अवस्थामा फेला परेको हो । 



शव पोस्टमार्टमपछि भइसके पनि उनकाे अन्तिम संस्कार हुन सकेकाे छैन । उनका आफन्तहरूले हत्यामा संलग्न भएका सबै पक्राउ नपर्दासम्म शव नबुझ्ने अडान लिएका छन् ।

डम्मर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता समेत भएकाले उनको पार्टीले समेत हत्यामा संलग्न सबैको पहिचान गरी कारबाही हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग अघि सारेको छ ।
 



  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार ९:४९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया