रौतहटका निवेश यादव बने एमालेको देशकै कान्छा जिल्ला सदस्य

पछिल्लो समय नेपालका राजनीतिक दलहरूका तल्लो कमिटीदेखि केन्द्रीय कमिटीको नयाँ नेतृत्व चयन भइरहँदा युवाहरूको उल्लेखनीय सहभागिता बढेको छ । 

एमाले केन्द्रीय संगठन विभागको प्रारम्भिक तथ्याङ्ककै आधारमा भन्ने हो भने पनि यसपटक जिल्ला अधिवेशनहरूबाट ठूलो संख्यामा ३० वर्षमुनिका विशेषगरी २३ देखि २६ वर्षे युवा समूह जिल्ला नेतृत्वमा स्थापित भएको देखिन्छ । यस्तै उदाहरण बनेका छन्- रौतहटका निवेश यादव । 

२२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् । उनी हाल सम्पन्न जिल्ला अधिवेशनहरूबाट निर्वाचित एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका हुन् । यस अघि बाजुराकी समिक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य भएकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन्। 

२०५५ साल फागुनमा रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ७ (साविक मुडवलवा गाविस) मा जन्मेका यादव पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघमा सक्रिय थिए । संघको स्थायी कमिटी सदस्यको रूपमा काम गरेका उनलाई यही पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न सचिवालय बैठकबाट ९औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ । 

सानै उमेरदेखि राजनीतिप्रति चासो राख्ने यादव २०७० सालमा आफू अध्ययनरत विद्यालयमा विभिन्न सुधारका विषयहरू उठाएर संघर्ष गर्दा चर्चामा आएका थिए । विगत दुई वर्षदेखि उनी भूगोल केन्द्रित राजनीतिमा सक्रिय छन् । 

गाउँकै सरकारी विद्यालयबाट एसएलसी पास गरेका उनले मदन भण्डारी मेमोरियल कलेजबाट मानविकी संकायमा उच्च माध्यमिक तथा रत्न राज्यलक्ष्मी क्याम्पसबाट राजनीतिशास्त्र र पत्रकारिता विषयमा स्नातक गरेका हुन् । 



यादवले करिब ४ वर्ष राष्ट्रिय स्तरमा पत्रकारिता समेत गरेका छन् । एपिवान टेलिभिजनमा केन्द्रीय कार्यालयमा स्थापनाकालदेखि करिब २ वर्ष संवाददाताको रूपमा काम गरेका यादवले न्युज २४ टेलिभिजन तथा हिमालय टेलिभिजनमा समेत काम गरेका छन् । 

केपी ओली नेतृत्वको सरकारमा प्रभु साह सहरी विकासमन्त्री रहँदा यादव उनको प्रेस सल्लाहकार थिए । उनै निवेश यादव पत्रकारिता छाडेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध भएका थिए । नेकपा विघटनपछि उनले ओलीलाई साथ दिने भनी एमालेमै रहे । अहिले एमालेको देशकै कान्छा जिल्ला सदस्य बन्दै यादवले युवा राजनीतिमा बलियो रेकर्ड बनाएका छन्। 



  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १२:४३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया