ए डिभिजन लिग : संंकटाको अपराजित यात्रामा पूर्णविराम, कोरोनाले हुन दिएन पूरा खेल

'ए' डिभिजन लिगको नवौं चरणका खेलहरू सकिएका छन् । एक खेल भने कोरोना भाइरसको प्रभावका कारण रोकियो । नवौं चरणसम्म आइपुग्दा केही टोलीहरूमाथि रेलिगेसनको तरबार झुन्डिरहेको छ भने केहीले खेलमा सुधार ल्याएसँगै अंक तालिकामा सुधार गरेका छन्।

संंकटाको अपराजित यात्रामा पूर्णविराम

नवौंं चरणका खेलसम्म आइपुग्दा संकटा क्लबकाे अपराजित यात्रामा पूर्णविराम लागेको छ । आफ्नो अपराजित यात्रालाई आठाैं चरणसम्म कायम राख्न सफल संकटाले पहिलाे हार बेहाेरेकाे हाे । ​

नवाैं चरणको तेस्राे खेलमा थ्रिस्टारले १-० ले पराजित गर्दै संकटाकाे अपराजित यात्रामा पूर्णविराम लगाएकाे हाे ।

यस चरणको खेल सकिएसँगै सकटा क्लब नौ खेलमा ३ जित, ५ बराबरी र एक हारसहित १४ अंंकसहित तालिकाकाे पाँचाैं स्थानमा रहेकाे छ ।

सबै खेलमा  स्पष्ट नतिजा 



यस चरणका हरेक खेलमा स्पष्ट नतिजा निस्किएको छ । यस अघिका चरणहरूमा बराबरीको खेल पनि हुने गरेका थिए । तर, यस चरणमा भएका ६ खेलमा हार र जितको नतिजा मात्र निस्किएकाे छ ।

हिमालयन शेर्पा र एपिएफ क्लबबीच भएको खेलमा खेलमा एपिएफ क्लबले १-० को जित निकालेको थियो । त्यस्तै दोस्रो खेलमा सातदोबाटो क्लबले उपाधि दाबेदार मानिएको मनाङ मर्स्याङ्दी क्लबलाई २-१ गोलले हराएको थियो । 



तेस्राे खेलमा संकटा थ्री स्टारसँग १-० ले पछि परेको थियो । चौथो खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३-१ को नतिजा निकालेको थियो । 

पाँचौं खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबविरुद्ध ४-० को नतिजा निकाल्दा, छैटौं खेलमा न्युरोड टिमले जावलाखेललाई  २-० ले हरायाे । 

​एपिएफलाई फाप्यो विदेशी खेलाडी 

विभागीय टोली एपिएफले सहिद स्मारक ए डिभिजन लिगको इतिहासमा पहिलो पटक विदेशी खेलाडी भित्र्याएको थियाे । एपिएफले जारी सिजनको पाँचौ चरणबाट विदेशी खेलाडी भित्र्याएको हो ।

एपिएफले दुई विदेशी खेलाडी भित्र्याएसँगै नतिजा पनि आफ्नो पक्षमा पार्दै आएको छ । विदेशी खेलाडी नभएको कारण आफू पछि परेको भन्दै आएका प्रशिक्षक कुमार थापालाई तथा टोलीलाई नै विदेशी खेलाडीले राहत दिएका हुन् ।

विदेशी खेलाडीले गोल गर्न खासै अग्रसर नभए पनि मैदानमा खेल सम्हाल्न भने खुबै मद्दत गरेका छन् । विदेशी खेलाडीको आगमनले नेपाली फरर्वाडलाई बल अघि लैजान र गोल गर्न निकै ठूलो सहयोग पनि मिल्दै आएको छ । 

एपिएफले नवौंं चरणमा भने ३ जना विदेशी खेलाडी मैदानमा उतारेकाे थियो । त्यसले हिमालयनविरुद्व जित निकाल्न सहयाेग गर्‍याे ।

सातदोबाटोको सनसनी

यस सिजनबाट ए डिभिजन लिग खेल्न थालेको सातदोबाटो युथ क्लबले ८ पटक लिग विजेता टोली मनाङ मर्स्याङ्दीमाथि २-१ को सनसनीपूर्ण जित हात पारेकाे थियाे ।

लिगकाे सबैभन्दा सफल टाेली मनाङलाई अन्डर डग टाेली सातदोबाटाेले पराजित  गर्ला भनेर कमैले मात्र साेचेका थिए ।

यस जितपश्चात् सातदोबाटो युथ क्लब पनि एक बलियो प्रतिस्पर्धी हो भनेर आफूलाई सावित गरेको क्लबका प्रशिक्षक मेघराज केसीले पोस्ट म्याच कन्फ्रेन्समा भनेका थिए । लिगमा कुनै पनि टोली सानो/ठूलो हुँदैन भन्ने कुरा पनि उनले प्रष्ट पारेका थिए । 

मछिन्द्र ४ अंकले अगाडि

नवौं चरणका खेल सकिँदासम्म  शीर्ष स्थानकाे मछिन्द्रले मनाङ मर्स्याङ्दीसँग स्पष्ट ४ अंककाे अग्रता बनाएकाे छ 

यस चरणमा ब्रिगेड ब्वाइजसँगको खेलमा ४-० नतिजा हात पारेसँगै मछिन्द्र क्लब अंक तालिकामा प्रतिस्पर्धी मानिएको मनाङभन्दा ४ अंकले अगाडि आएको हो । 

यस जितपश्चात् क्लबका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘हामी १/२ खेलअघि नै उपाधि रक्षा गर्न तथा आफ्नो नाम गर्न चाहन्छौँ ।’ 

डिफेन्डिङ च्याम्पियन समेत रहेको मछिन्द्र क्लबले हालसम्म ८ क्लिनसिटसहित अपराजित रहँदै आएको छ । 

च्यासलका खेलाडीलाई कोरोना संक्रमणका कारण खेल स्थगित 

यस पटकको कोरोना भाइरसको महामारीले जारी ए डिभिजन लिगलाई पनि नराम्रोसँग गाँज्यो । च्यासलका १९ जना खेलाडीलाई कोरोना संक्रमण देखिएपश्चात यस चरणको छैटौं खेल च्यासल युथ क्लब र नेपाल पुलिसबीचको खेल स्थगित भयाे ।

नवौंं चरणपछि लिगमा अन्तर्राष्ट्रिय ब्रेक भनेर लगभग एक महिनाको ब्रेक राखिएकाे छ । खेलाडीहरू पूर्ण रूपमा निकाे भएपछि र दशौं चरण सुरु हुनुअघि नै यो खेल गराउने पनि लिग समितिका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १४:३६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया