फुटबलको राष्ट्रिय टिमको प्रशिक्षण सुरु

काठमाडौंमा आजबाट फुटबलको राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरु भएको हो ।  

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए । फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको हो । 

फिफा विन्डोमा नेपालले मोरिसससँग दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र मोरिससबीच दशरथ रंगशालामा माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ । 

काठमाडौंमा नै जारी ए डिभिजन लिगको नवौँ चरण सोमबार सकिएको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारी लिगमा विभिन्न क्लबमा आबद्ध भएर खेलिरहेका खेलाडी पनि बन्द प्रशिक्षणमा पुगेका छन् । मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीले सहायक प्रशिक्षकका रुपमा संकटा क्लवका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई बोलाएका छन् । 

मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि उनलाई अब्दुल्लाहले दोस्रो सहायक प्रशिक्षकका रुपमा टिममा बोलाएका हुन । एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकारसँग कुरा गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मौरिससविरुद्ध खेल्न तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । मौरिससविरुद्धको खेलमा केही नयाँ खेलाडीलाई मौका दिने जानकारी पनि मुख्य प्रशिक्षक  अल्मुताइरीले दिए । 

यस्तै सहायक प्रशिक्षकको रुपमा जिम्मेवारी पाएका विष्णु गुरुङले आफूले पाएको मौकाको भरपुर सदुपयोग गरेर आफुलाई र खेललाई अझ निखार्ने बताए । योपटकको प्रशिक्षणमा चोटबाट मुक्त भएर फर्किएका विमल घर्तीमगरसँगै लामो समयदेखि अस्ट्रेलियामा रहेका जगजित श्रेष्ठले पनि कमब्याक गरेका छन् । जसमा जगजितले राष्ट्रिय टिममा फर्किने अन्तिम अवसर हुन सक्ने बताएका छन् । 



तर, नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण यो खेल हुने या नहुने अनिश्चित छ । सरकारले जारी गरेको निषेधाज्ञा र बढ्दो संक्रमणको जोखिमबीच खेल खेलाउनु आफैँमा जोखिम पनि हो । यस्तै, नेपाली फुटबल टिमले मंगलबारबाट प्रशिक्षण सुरु गरे पनि कोरोना संक्रमण भएका खेलाडी निको भएर आएपछि सम्पूर्ण टिमको  प्रशिक्षण गर्ने एन्फाको तयारी छ ।



  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार २१:२६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया