कर्णालीमा राष्ट्रिय सभा निर्वाचनको तयारी
दुईघेराको सुरक्षामा खोपकार्ड अनिवार्य

कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि दुईघेराको सुरक्षा व्यवस्थासहित खोपकार्ड अनिवार्य गरिएको छ । 

निर्वाचनमा भाग लिन आउने मतदाताहरूले कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड लिएर मात्रै मतदान स्थलमा छिर्न पाउनेछन् । 

निर्वाचन समयको ४८ घण्टाभित्र चेकजाँच गराएको पिसिआर नेगेटिभ रिपोर्ट समेत लिएर मतदान स्थलमा छिर्न पाउने व्यवस्था गरिएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । 

यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचन बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन गर्ने तयारी रहेकाे चालिसेकाे भनाइ छ ।

उनका अनुसार जनपद प्रहरी र सशस्त्र प्रहरीको दुइघेराको सुरक्षामा निर्वाचन हुनेछ । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यका लागि दुईवटा छुट्टाछुट्टै मतदान केन्द्र तयार गरी निर्वाचन सम्पन्न गर्ने तयारी गरिएको चालिसेले बताए ।
 
कोरोना भाइरस पोजेटिभ भएका मतदाताहरूका लागि भने के गर्ने भन्ने विषयमा आयोगमा लेखी पठाएको र निर्देशन बमोजिम नै काम गर्ने उनले सुनाए । 

‘निर्वाचन कुनै पनि हालतमा सम्पन्न गर्नैपर्छ’, उनले भने, ‘कडाभन्दा कडा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर निर्वाचन गर्ने तयारी रहेको छ ।’ 



निर्वाचन स्थलमा २५ जनाभन्दा बढी छिर्न नदिने जनस्वास्थ्य मापदण्डलाई ध्यानमा राखी निर्वाचनको तयारी गरिएको उनकाे भनाइ छ ।

कर्णाली प्रदेशमा नेकपा एमालेका तर्फबाट तीन र संयुक्त गठबन्धन  (नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादी) का तर्फबाट तीनजना गरी ६ जना उम्मेदवार रहेका छन् । 



स्थानीय तहका १५६ जना र प्रदेश सभाका ३५ जना मतदाता रहेका छन् ।

७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशमा प्रमुख र उपप्रमुख गरी १५८ जना हुनुपर्नेमा एकजनाको मृत्यु भएको र एकजना कारबाहीमा परेकोले दुईजनाको संख्या कम भएको निर्वाचन कार्यालयले बताएको छ ।
 
यता कर्णाली प्रदेश सभाका लागि निर्वाचित भएका जम्मा ४० जना सांसदमध्ये फ्लोर क्रस गरेको भन्दै नेकपा माओवादीका एक र नेकपा एमालेका चार गरी पाँचजनालाई पार्टीले कारबाही गरेको थियो । 

सोही कारण सभामुख र उपसभामुखसहित ३५ जना मात्र प्रदेश सभा सदस्यहरू रहेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहको मतभार १८ रहेको समेत उनले सुनाए । 

चालिसेका अनुसार मतदानका लागि आवश्यक कर्मचारी समेत नियुक्त गर्ने काम भइरहेको छ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा निर्वाचन सुरक्षा समिति गठन गरी सुरक्षा व्यवस्थालाई कडा पार्ने काम भइरहेको रिजालले बताए ।
 
पौष १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना भएदेखि नै दिनभर जनपद प्रहरीले सुरक्षा दिइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । प्रदेश निर्वाचन कार्यालयको प्राङ्गणमा निर्वाचनको तयारी थालिएको हो । 

सुरक्षा योजना अनुसार माग भएबमोजिम सुरक्षाकर्मी खटाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए  । 

जनशक्ति अभाव भएको खण्डमा भने प्रदेश प्रहरीबाट जनशक्ति प्रदान गर्ने तयारी रहेको प्रहरी वरिष्ठ उपरीक्षक/एसएसपी तथा कार्यालयका सूचना अधिकारी राजेन्द्र सिंह खड्काले जानकारी दिए । 
   

  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १२:३९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया