संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।
संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदूत नियुक्तिलाई समावेशी तथा समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको हो । त्यसका लागि समितिका सभापति लक्ष्मणलाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर समितिको अर्काे बैठक बोलाउन जिम्मेवारी दिइएको संसदीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
संसदीय सुनुवाइ समितिले यसअघि पनि संवैधानिक निकायमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउन सरकारलाई निर्देशन दिएको थियो । तर, त्यसको कार्यान्वयन नभएपछि सो विषयमा प्रधानमन्त्री देउवासँगै छलफल गर्ने निष्कर्षमा समितिा पुगेको हो ।
प्रवक्ता पाण्डेले भने, ‘आजको बैठकमा यसबारे सरकारको पुनः ध्यानाकर्षण गराउने र आगामी बैठकमा प्रधानमन्त्रीज्यूलाई आमन्त्रण गर्नेगरी बैठक टुंगिएको अवस्था हो । र यसको मिति र समय निर्धारण संसदीय सुुनुवाइ समितिको अध्यक्षलाई जिम्मा दिने निर्णय गरेको हो ।’
बैठकमा समितिका सदस्यहरुले संविधानमा संवैधानिक निकाय र राजदूत नियुक्ति समावेशी र समानुपातिक हुने व्यवस्था गरिए पनि सरकारले सोहीअनुसार गर्न नसकेको बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।