कोरोना रोकथामको विकल्प लकडाउन होइन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण मुलुक पुनः लकडाउन गर्नुपरे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा नीजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने आश्वासन दिए । 

उनले मन्त्रिपरिषद्मा कोरोना महामारी बढ्दै गएको भन्दै बन्दका कुरा उठ्न लागेकाले बैठकमा बन्दको शब्द नै राख्न नहुने पक्षमा आफू रहेको बताए । मन्त्री शर्माले कोरोना महामारी नियन्त्रणको लागि सुरक्षाका विधि कडाइका साथ लागू गरेर भए पनि अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताए । निजी क्षेत्र र सरकारको प्राथमिकता लकडाउन अथवा बन्द गर्न नहुने पक्षमा रहेकाले कोरोना रोकथामको विकल्प लकडाउन नभएको उनले बताए । 

अर्थमन्त्री शर्माले भने, ‘अर्थतन्त्र चलायमान राख्नका लागि लकडाउन गर्नुहुन्न भन्ने पक्षमा अर्थ मन्त्रालय छ । निजी क्षेत्रले पनि लकडाउनको विरोध गरेकाले त्यहीअनुसार अगाडि बढ्छौँ । आवश्यक परे निजी क्षेत्रसँग छलफल गरेर अगाडि बढ्छौँ ।

अहिले अर्थतन्त्रमा नीतिगत तथा संरचनागत सुधारको आवश्यकता रहेको बताउँदै उनले अर्थतन्त्रको बाधक नीतिगत तथा संरचनागत व्यवस्था रहेको बताए । उनले पछिल्लो समय बाहिर हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र समाप्त नै नभएको बताए । केही विषयमा चिन्ता गर्नुपर्ने भए पनि आतक मच्चाएजस्तो अवस्था नरहेको उनले बताए । 

अर्थमन्त्री शर्माले सरकारले निजी क्षेत्रको हितको लागि काम गरिरहेको बताउँदै उद्योगहरुमा लगानी बढाउनको लागि स्रोत नचाहिने नीति ल्याउँदा कालो धनलाई प्रोत्साहन गरेको भन्दै विरोध भएको बताए । सरकार र निजी क्षेत्र दुवैले यो विषयमा प्रतिकार गर्नु जरुरी रहेको उनले बताए । 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार २०:५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया