विकास रकम हिनामिनाको आरोपमा एमालेबाट निर्वाचित वडाध्यक्षलाई विप्लवका कार्यकर्ताले लगाए कालोमोसो

जाजरकोटका एक वडाध्यक्षलाई नेकपा (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले कालोमासो र जुत्ताको माला लगाएको छ । रकम हिनामिना गरेको आरोपमा छेडागाड नगरपालिका–६ का वडाध्यक्ष रामबहादुर केसीलाई उनीहरुले कालोमोसो र जुत्ताको माला लगाएका हुन् ।  

जनविकास माध्यमिक विद्यालयको फिल्ड निर्माणमा वडाध्यक्षले नौ लाख हिनामिना गरेको अखिल क्रान्तिकारी जाजरकोटले सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गर्दै आरोप लगाएको छ । यस्तै अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरउन्नतिमा ५ लाख हिनामिना गरेको, कोभिड १९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार वडा सचिवको कीर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको उनीहरुको आरोप छ । 

यस्तै बाहुन गाउँदेखि अफ्गान खानेपानी योजनाबाट २५ लाख रुपैयाँ हिनामिना गरेको, स्वास्थ्य चौकीको सोलार खरिदमा सबै काम सम्पन्न भएको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको, थालीखोला मुहानबाट ल्याइएको जेवा खानेपानीमा सात लाख रुपैयाँ हिनामिना गरेको, सरकारले विकास योजनाका लागि दिएको बजेटबाट गुणस्तरीय काम नगरेको आरोप लगाउँदै अखिल क्रान्तिकारी जाजरकोटले कालोमोसो दलेको हो ।

नेकपा एमालेले विज्ञप्ति जारी गर्दै कालोमोसो दल्नु गलत भएको भन्दै इमान्दार, कर्तव्य निष्ठ कार्यकर्तामाथि आक्रमण भएको भन्दै विरोध जनाएको छ । विद्यार्थीले लगाएको आरोप गलत भएको एमालेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले घटनाको विषयमा अनुसन्धान थालिएको बताएका छन् । ‘पीडित पक्षबाट कुनै खालको जानकारी आएको छैन,’ उनले भने, ‘यदि आयो भने हामी प्रक्रिया अघि बढाएर कालोमोसो दल्नेहरूलाई पक्राउ गरेर कारबाही गर्नेछौँ ।’ 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार २२:१४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया