शिक्षक महासंघको आन्दोलन स्थगित

काठमाडौं-  सरकारसँग वार्ता सुरु भएपछि नेपाल शिक्षक महासंघले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासंघले मङ्सिर २१ गतेका लागि घोषणा गरिएको ‘काठमाडौँ  जाऔँ’ कार्यक्रम स्थगन गरेको हो । मङ्सिर १४ गते पनि महासंघले उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध गराई काठमाडौंमा प्रदर्शन गरेको थियो । सो दिन छुटेको पढाइ मङ्सिर २९ गते शनिबार पूर्ति गरिने महासंघले जनाएको छ । 

स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता ल्याउन संविधान संशोधन गरिनुपर्ने, शिक्षकहरुसँग विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने र निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेलगायत माग राखी महासंघले जेठ १७ गतेदेखि आन्दोलन गर्दै आएको हो । महासंघका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा वार्तालाई फलदायी र निर्णायक बनाएर सबै खाले शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उल्लेख छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार १०:१४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया