मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ ।
बिहीबार नेकपा एमाले र लोसपाले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएको हो । यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ ।
कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेसको विकासको लागि काम गरेको बताए । उनले लोसपासँग मिलेर काम गर्न पाउँदा खुसी लागेको बताउँदै सरकारमा मधेसी जनताको हक अधिकारको कुरा र एजेण्डा उठाउने बताए ।
‘लोसपासँग मिलेर सरकारले काम गर्दा मधेस प्रदेशमा धेरै राम्रा विकासका कामहरू गरेको थियो । हामीले सरकारमा रहँदा मधेसको जनताका एजेण्डा साथमा लिएर अघि बढेका थियौँ’ उनले भने ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले नेकपा एमालेसँग सहकार्य गरेर मधेशको भावनाको, उत्पीडनमा परेका, आदिवासी, दलित, जनजाति, मधेसी, महिला, मुस्लिम, थारूको भनाइ सरकारमा लैजाने बताए । उनले एउटा धारणाअनुसार सरकार सञ्चालन हुनुपर्ने पनि बताए ।
‘सरकार सञ्चालन गर्दा सबैको एउटा धारणाअनुसार सरकार सञ्चालन गरिनुपर्छ । लोसपाले जसरी मधेसको भावनाको, उत्पीडनमा परेका मानिसहरूको, आदिवासी, दलित, जनजाति, मधेसी, महिला, मुस्लिम, थारूहरूको भावनाको जसरी सम्मान गरेका थियौँ । यहाँदेखि हामीले केन्द्रसम्म कुरा उठाइरहेका छौँ । त्यसको लागि हामी सहपाठी खोजिरहेका छौँ’ उनले भने ।
नेता सोनालले मधेसको जनताको अधिकारको लागि आफ्नो पार्टी गम्भीर रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।