संक्रमित बढेपछि किनमेल गर्न भारतीय बजार जान रोक

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) कैलालीले संक्रमित बढ्न थालेपछि थप कडाइ गर्ने भएको छ । कैलालीले किनमेल गर्न सीमानाका पार गरेर भारतीय बजार जाने नेपालीलाई बन्देज लगाउने निर्णय गरेको छ । बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि भारतीय बजारमा यहाँका नागरिक खुलेआम सीमावर्ती बजार जाने गर्थे ।

भारतमा कोरोना संक्रमण दर बढिरहेको अवस्थामा कैलालीबाट दैनिकजसो नेपालीहरु त्यहाँ जाने गरेकाले उक्त निर्णय गरिएको जिल्ला प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । डिसिसिएमसीले किनमेललगायतका कामले सीमा नाका ओहोर दोहरमा रोक लगाउन जिल्ला प्रशासनलाई सिफरिस गरेको उनले बताए । अत्यावश्यक काम परेको खण्डामा कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै प्रवेश गराउने निर्णय समेत भएको सूचना अधिकारी जोशीले बताए । 

डिसिसिएमसीले २५ वटा निर्णय गरेको हो । २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न यसअघि नै आदेश जारी भइसकेको बताउँदै त्यसैलाइ निरन्तरता दिइएको सूचना अधिकारी जोशीले बताए । 

डिसिसिएमसीको निर्णयअनुसार होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, उद्यानलगायतका सार्वजनिक स्थानमा जाँदा बुधबारदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिनेछ ।

भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाएर व्यवस्थापन गर्ने निर्णय पनि भएको छ । सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ । 

एकैदिन ५३४ जनामा कोरोना संक्रमण 



सुदूरपश्चिम प्रदेशमा एकैदिन ५ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार २ हजार २८६ जनाको परीक्षण गर्दा ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

२ सय ९५ जना एन्टिजेन र २ सय ३९ जनाको पीसीआरमार्फत संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । बिहिबार थपिएकामध्ये १ सय ५५ जना संक्रमित भारतबाट आएका नागरिक हुन् ।



त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ७४, गड्डाचौकी नाकाबाट आएका ७६, जुलाघाटबाट आएका ४ र पुलघाटबाट फर्केका एकजनामा संक्रमण पुष्टि भएको छ । 

बिहीबार सुदूरपश्चिमका नाका भएर १ हजार ४६७ जना स्वदेश फर्केका छन् । योसँगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार नाघेको छ । निर्देशनालयले तीन हजार २१ जना सक्रिय संक्रमित रहेको जनाएको छ । सबैभन्दा बढी कैलालीमा १ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन् ।

  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार २०:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया