बाजुराका ५ हजारभन्दा बढी बालबालिकाले पाएनन् खोप

बाजुरामा १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाएका छन् । जिल्लाभरका १२ देखि १७ वर्ष उमेर समूहका झण्डै २२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य भए पनि ५ हजार ६०२ बालबालिका खोप लगाउनबाट वञ्चित भएका छन् ।   

सरकारले देशभर बालबालिकाका लागि खोप अभियान सञ्चालन गरेसँगै बाजुरामा पनि मोडर्ना खोप दिइएको थियो । तर, आवश्यक खोप उपलब्ध नभएपछि ५ हजारभन्दा बढी बालबालिकाले खोप नपाएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए । 

नौ पालिकाका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका १६ हजार ८०६ जना बालबालिकालाई खोप दिइएको छ । 

जिल्लाको बूढीगङ्गा, बडीमालिका, बूढीनन्दा र त्रिवेणी नगरपालिका तथा खप्तड छेडेदह, हिमाली, गौमूल, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका विद्यार्थीलाई विद्यालयमा नै स्वास्थ्यकर्मी खटाएर खोप लगाइएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर महेश चन्दले जानकारी दिए । 

नौ पालिकाका २२ हजार ४०८ मध्ये १६ हजार ८०६ बालबालिकाले मात्र पहिलोपटक मोडर्ना खोप लगाएका छन् । ‘खोपको मात्रा १६ हजार मात्र उपलब्ध भएपछि उक्त खोप लगाएको छौँ । बाँकीलाई थप खोपको मात्रा उपलब्ध भएपछि लगाइने छ’, खोप सुपरभाइजर चन्दले भने, ‘जिल्लाभरि १३४ खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिए र त्यसबाट सबै पालिकाका बालबालिकालाई खोप लगाइएको हो ।’

जिल्लाको सदरमुकामसमेत रहेको बडीमालिका नगरपालिकाका २ हजार ९०५ मध्ये २ हजार १९७ जना, बूढीगङ्गा नगरपालिकाका ३ हजार ७३८ मध्ये २ हजार ९६३ जना, त्रिवेणी नगरपालिकाका ३ हजार ५६३ मध्ये २ हजार ६७२ जना र बूढीनन्दा नगरपालिकाका ३ हजार ४२ मध्ये २ हजार २८२ जना बालबालिकाले मोर्डना खोप लगाएका छन् । 



यस्तै खप्तड छेडेदह गाँउपालिकाका ३ हजार २१७ मध्ये ८१४ जना, गौमूल गाँउपालिकाका १ हजार २७१ मध्ये ९५३ जना, स्वामीकार्तिक खापर गाँउपालिकाका १ हजार ७१८ मध्ये १ हजार २८९ जना, हिमाली गाँउपालिकाका १ हजार ५०६ मध्ये १ हजार १३० जना र जगन्नाथ गाँउपालिकाका १ हजार २३५ मध्ये ९२६ बालबालिकाले मोडर्ना खोप लगाएका छन् । 

खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । बाजुरामा हालसम्म ६५ हजार बढीले पहिलो मात्रा र ५३ हजारले दोस्रो मात्रा खोप लगाएका छन् ।



  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार २१:५२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया