कोरोना भएको ७ दिनपछि लक्षिण देखिएन भने परीक्षण गर्नुपर्दैन : सहप्रवक्ता अधिकारी

सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्यकर्मीमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण रहे पनि संक्रमण दर बढाइरहेको बताए ।

उनले आम मानिसले स्वास्थ्यसम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाविरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने बताए ।

सहप्रवक्ता अधिकारीले ओमिक्रोन भेरियन्ट तीव्र संक्रामक रहेकोले घर परिवारमा पनि कोभिडबाट आफू बच्न र अरुलाई पनि बचाउनका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने र आफूलाई संक्रमण भए ७ दिनअघिसम्म भेटघाट गरेका मानिसलाई सचेत गराउन अनुरोध गरे ।

उनले सरकारले स्वास्थ्यका पूर्वाधार बढाए पनि स्वास्थ्यकर्मी गुणात्मक रुपमा बढाउन असहज भएको बताए । सहप्रवक्ता अधिकारीले असावधानीका कारण कोरोनाबाट हुने जनधनको क्षति हुन नदिन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग र सचेत रहनुपर्ने बताए ।

'संक्रमणको गति तीव्र छ । हामीले लिने सामान्य सावधानीले त्यसलाई कम गर्न सकिन्छ । कोभिड १९ विरुद्धको खोप लगाउन सकेको आधारमा जोखिम कम हुन्छ । अहिले हामी संक्रमणको उच्च अवस्थाबाट गइरहेका छौँ । यो केही समय रहन्छ र बिस्तारै कम हुँदै जान्छ,' उनले भने ।



सहप्रवक्ता अधिकारीले कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा आइसोलेसनमा बस्नुपर्ने र त्यसपछि पनि लक्षण देखिए थप आइसोलेसनमा बस्न सुझाव दिए । उनले कोरोना भएको ७ दिनसम्म आइसोलेसनमा बसेको छ र सातौँ दिनपछि कुनै लक्षण देखिएको छैन भने कोरोना परीक्षण गराउनुको कुनै औचित्य नरहेको पनि स्पष्ट पारे ।

सहप्रवक्ता अधिकारीले भने, ‘कोभिड १९ संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य रुपमा पृथकवास बस्नुपर्छ । अरुसँग भेटघाट गर्नहुँदैन । भेटघाट भएका मानिसलाई सुचित गराउन आवश्यक हुन्छ जसले संक्रमण रोक्न सहज हुन्छ । संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेको छ भने ७ दिनपछि संक्रमण सर्दैन भन्ने कुरा पुष्टि भएकोले सात दिनपछि परीक्षण गर्नुको कुनै औचित्य छैन ।'



सहप्रवक्ता अधिकारीका अनुसार ७ दिनमा पनि लक्षण भएको खण्डमा भने आफूमा संक्रमण सक्रिय छ भन्ने बुझेर १३ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने बताए ।

'सक्रिय भाइरस रहेसम्म लक्षणहरु देखिन्छन् । त्यस्तोमा लक्षण हराएको थप तीन दिनसम्म आइसोलेसनमा बस्नुपर्छ । कसैलाई १० दिनमा पनि लक्षण छ भने १० औँ दिनसम्म पनि संक्रमण गराउन सक्ने भाइरस छ भन्ने बुझ्नुपर्ने हुन्छ । उहाँले १३ दिनसम्म आइसोलेशनको अवधि पूरा गर्नुपर्छ, १० दिनमा लक्षण कम भयो भने । त्यस्तोमा परीक्षण गराइराख्नुको कुनै आवश्यक्ता छैन । त्यसले कुनै अर्थ दिँदैन, श्रोत साधनको दुरुपयोग मात्रै हो’ उनले भने ।

सहप्रवक्ता अधिकारीले अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकोले पहिला लगाएको खोप मात्रै लगाउनु पर्ने सुझाव दिए । उनले कोभिसिल्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एकै भएकोले यी दुई खोपमा भने रोजेर लगाउन सकिने बताए ।

सहप्रवक्ता अधिकारीले विभिन्न अध्ययन र विश्व स्वास्थ्य संगठनले भनेअनुसार नै नेपाल सरकारले अतिरिक्त कोरोनाविरुद्धको खोप लगाउनेसम्बन्धी निर्णय गरेकोले पहिलो र दोस्रो डोजमा लगाएको खोप नै अतिरिक्त डोजका रूपमा लगाएमा मात्रै त्यसले सकारात्मक प्रतिक्रिया दिने बताए ।

  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १५:३०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया