भारतविरुद्धकाे एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टाेली दक्षिण अफ्रिका ७ विकेटले विजयी भएकाे छ ।
याे जितसँगै २-० काे अग्रता लिँदै घरेलु टाेलीले एक खेल अगावै सिरिजमाथि कब्जा जमायाे ।
२८८ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ४८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्याे ।
दक्षिण अफ्रिका लागि जानेमन मलानले १०८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रनकाे याेगदान दिए ।
क्विननटन डि ककले ६६ बलमा ७ चौका र ३ छक्काकाे मद्दतले ७८ रन जोडे ।
पहिलो विकेटका लागि ओपनर मलान र डि ककले २२ ओभरमा १३२ रनको शतकीय साझेदारी गर्दै टाेलीलाई उत्कृष्ट दिलाएका थिए ।
अविजित रहेका एडेन माक्ररम र रस्सी भान डेर डुसेनले समान ३७ रन बनाए ।
भारतका लागि युजभेन्द्र चाहल, शार्दुल ठाकुर र जसप्रित बुमराहले एक-एक विकेट हात पारे ।
यसअघि बोल्यान्ड पार्क पार्लमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रन बनाएको थियो ।
भारतका लागि ऋषभ पन्तले ७१ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८५ रनको योगदान दिए ।
कप्तान केएल राहुलले ७९ बलमा ४ चौकाकाे मद्दतमा ५५ रन बनाए ।
शिखर धवनले २९ रनकाे याेगदान दिँदा रविचन्द्रन आश्विन २५ रनमा अविजित रहे ।
ओपनर धवन र राहुलले ११.४ ओभरमा ६३ रनको साझेदारी गर्दै भारतलाई राम्रो सुरुवात दिलाएका थिए ।
दक्षिण अफ्रिका तबरेज शाम्सीले २, केशव महाराज, सिसान्दा मगला, एडेन माक्ररम र एन्डीले फेहलुकवायोले एक-एक विकेट लिए ।
पहिलाे खेलमा दक्षिण अफ्रिका ३१ रनले विजयी भएकाे थियाे तेस्रो तथा अन्तिम खेल २३ जनवरी (भाेलि) हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।