कोरोनाको तेस्रो लहर : अस्पतालमा चाप सुरु, ज्यान गुमाउँदै दीर्घरोगी
फाइल तस्वीर

देशभर कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको छ । यसरी कोरोना संक्रमित भएर भर्ना हुने धेरै बिरामी दीर्घरोगी रहेका छन् ।

अस्पताल भर्ना हुने बिरामी सामान्यभन्दा पनि लामो समयदेखि विभिन्न रोगले ग्रसित तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका रहेको चिकित्सकहरूले बताएका छन् ।

वीरमा बढ्यो बिरामीको चाप

कोरोना संक्रमितको उपचारका लागि लक्षित गरेर खोलिएको वीरको युनिफाइड कोरोना अस्पतालमा बिरामीको चाप बढेको छ । कोरोना महामारीको पहिलो लहरमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि युनिफाइड कोरोना अस्पताल सञ्चालनमा ल्याइएको थियो ।

अस्पतालका निर्देशक डा. भूपेन्द्र कुमार बस्नेतका अनुसार अहिले वीर अस्पतालमा १४० जना कोरोना संक्रमित उपचाररत छन् । जसमा आइसीयुमा २५ र भेन्टिलेटरमा ३ जना रहेका छन् ।

‘संक्रमण यही गतिमा बढ्दै जाने हो भने अस्पतालमा चाप अझ बढ्छ । दोस्रो लहरमा भन्दा यो लहरले मानिसलाई छिटो संक्रमित पार्ने भएकाले अस्पतालमा चाप पनि बढ्छ,’ उनले भने ।



जति धेरै संक्रमण दर रह्यो उति नै अस्पतालमा आउने चाप बढ्ने उनको भनाइ छ । उनले यो पटक फैलिएको ओमिक्रोन भेरियन्टले दीर्घरोगीलाई गाह्रो बनाउने बताए । उनका अनुसार कोरोनाका कारण मृत्यु हुने पनि दीर्घरोगी नै बढी रहेका छन् ।

‘धेरै मानिसहरू दीर्घ रोगको सिकार पनि रहेका छन् । जो लामो समयसम्म अस्पतालमा बसिरहेका छन् र अन्य रोगको औषधि सेवन गरिरहेका हुन्छन्, उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले कोरोनाले गाह्रो पनि बनाइरहेको छ र मृत्यु हुनेमा पनि दीर्घरोगी नै छन्,’ उनले भने ।



उनका अनुसार वीर अस्पतालमा अहिले आएका बिरामी पनि कोही क्यान्सर, दम, मधुमेह, उच्च रक्तचाप तथा विभिन्न किसिमका दीर्घरोगी रहेका छन् ।

तेस्रो लहर सुरु भएको एक हप्ता अघिसम्म वीर अस्पतालमा मृत्यु हुनेको संख्या शून्य थियो । तर, यस हप्ता भने हरेक दिन १, २, ३ जनाको दरले मृत्यु भइरहेको डा. बस्नेतले जानकारी दिए । उनले भने, ‘मृत्यु हुने अहिलेसम्मका सबै दीर्घरोगी रहेका छन् ।’

बलम्बु अस्पतालमा स्वास्थ्यकर्मीमा पनि संक्रमण

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा १२० जना कोरोना संक्रमित उपचाररत छन् । आइसीयूमा ७ र भेन्टिलेटरमा २ जना बिरामी छन् । भर्ना हुने बिरामीमा दीर्घरोगी बढी रहेको अस्पतालका सूचना अधिकारी डा. प्रवीन नेपालले बताए ।

अस्पतालमा अन्य रोगको उपचार गर्न आउने बिरामीमा पनि कोरोना देखिएपछि उपचारमा समस्या आएको उनको भनाइ छ ।  उनले भने, ‘अस्पतालमा अन्य रोगको उपचार गर्न आएका बिरामीमा कोभिड पोजिटिभ देखिएको छ । दीर्घरोग भएका बिरामीलाई भने अक्सिजनको आवश्यकता पनि परेको छ ।’

अप्रेसन गर्न आउने, अन्य रोगका बिरामी तथा कोरोना संक्रमण नै भएका बिरामी गरेर तीन किसिमका बिरामी आउँदा समस्या हुने गरेको उनको भनाइ छ । ‘१५ पुसयतालाई तेस्रो लहरका रूपमा हेर्ने हो भने बलम्बुमा ५ गतेदेखि यता ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमका रोगी र क्यान्सरका बिरामी हुनुहुन्थ्यो,’ उनले भने, ‘ओमिक्रोन अलिकति कमजोर छ भनिहाल्दैमा हेलचेक्याइँ भने नगरौँ । कमजोर बिरामीलाई यसले गाह्रै बनाउँछ ।’

यस पटकको भाइरस कमजोर भनेर मानिसहरूले हेलचेक्याइँ गरेको कारणले पनि संक्रमणदर बढेको डा. नेपालको भनाइ रहेको छ । त्यस्तै, बलम्बुमा यत्रतत्र आउने विरामीमा कोभिड देखिँदा स्वास्थ्यकर्मीमा पनि संक्रमणदर बढेको उनले बताए । उनका अनुसार हाल अस्पतालमा ८४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

सिभिलको आइसीयुमा सबै दीर्घरोगी

निजामती कर्मचारी (सिभिल) अस्पतालमा हाल २७ जना कोरोना संक्रमित उपचाररत छन् । जसमा आइसीयूमा ९ र हाइ केयरमा १० जना बिरामी छन् । भेन्टिलेटरमा भने हालसम्म बिरामी नरहेको सिभिल अस्पतालका सूचना अधिकारी डा. विदेश विष्टले बताए ।

उनका अनुसार हाल सिभिलको आइसीयुका सबै बिरामी दीर्घ रोगले ग्रसित रहेका छन् । उनले भने, ‘हाम्रोमा आइसीयुमा रहेका बिरामी सबै दमका रोगी छन् ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा हाल १५ जना कोभिडका बिरामी उपचाररत छन् । जसमा ९ जना आइसीयुमा छन् । ३ जना भेन्टिलेटरमा छन् । अन्य सामान्य अवस्थामा रहेको टेकुका सूचना अधिकारी नवराज गौतमले बताए । 

गौतमले भने, ‘पहिलेदेखि नै औषधि सेवन गरिरहेका बिरामी अलि बढी सिकिस्त हुनुहुन्छ । एक जना बिरामी अंग प्रत्यारोपण गरेको र अन्य २ जना पनि दीर्घ रोगबाट नै ग्रसित हुनुहुन्छ, जसले गर्दा उहाँहरूलाई भेन्टिलेटरमा राखिएको छ ।’

सामान्य बिरामीभन्दा दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई यस पटकको लहरले बढी सिकिस्त बनाएको उनले बताए ।

  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १५:५६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया