संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको हो, निर्वाचन समयमै हुनुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।

डा. मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को शनिबार आफ्नै निवासमा लोकार्पणपछि पत्रकारहरूसँगै बोल्दै उनले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन संविधानअनुसार तोकिएकै समयमै हुनुपर्ने बताएका हुन् ।

उनले संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड पनि दिए । संविधानको भावना र मर्मअनुसार सरकार सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको उनको भनाइ छ । 

‘त्यसै बनेको गठबन्धन सरकार होइन । यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन’, नेता सिंहले भने, ‘त्यो कारणले धेरै काममध्येमा यो गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो ।’

झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको जनादेशअनुसार काम गर्न नसकेको र संविधानविपरीत गएर बाटो बिराएको बेला संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको स्मरण गराए ।  

यस्तै, नेता सिंहले १४ औँ महाधिवेशनमा तत्कालीन संस्थापनइतर समूहले आफूमाथि अन्याय गरेको गुनासो गरे । ‘१३ औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिस्पर्धा गर्न मलाई जुनियर भनियो तर अहिले आएर मभन्दा जुनियरलाई मैले नेता मानेर जानुपर्छ भनेपछि मैले अन्याय भयो भनें ।’



१३ औँ महाधिवेशनमा जुनियर भनेर सभापतिको प्रतिस्पर्धा गर्नबाट रोकेको समूहले १४ औँ महाधिवेशनमा आफूभन्दा जुनियरको नेतृत्वमा प्रतिस्पर्धामा जाऔँ भनेकाले समूह छाडेको सिंहले प्रष्ट्याए । 

‘१३ औँमा जुनियर भनेर यो विचार समूहले रोक्ने, आज १४ औँमा म सिनियर हुँ भन्दा जुनियरको नेतृत्वमा म कसरी जान सक्छु ?’, सिंहले थप भने, ‘द्रोस्रो चरणमा मैले शेरबहादुर देउवालाई विधि, नियम्मसम्मत पार्टी सञ्चालन गर्ने प्रतिबद्धता अनुरुप सहयोग गरेको हुँ । मैले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिएको छु ।



लोकार्पण कार्यक्रममा पुस्तककी लेखिका डा. सिंह, प्रा. कपिल श्रेष्ठ, कनकमणि दिक्षितलगायतले पुस्तकमाथि विचार राखेका थिए ।

  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १७:२०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया