संयुक्त आन्दोलन परिचालन समितिले जलायो अध्यक्ष चौधरीको पुतला

महोत्तरीको पिपरा गाउँपालिकामा सर्वदलीय संयुक्त आन्दोलन परिचालन समितिले गाउँपालिका कार्यालयको प्रशासनिक भवनमा तालाबन्दी गरेको छ ।

गाउँपालिकामा भ्रष्टाचार, अनियमितता, अपारदर्शिता भएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।  

उनीहरूले गाउँपालिका अध्यक्ष बिक्रम चौधरी, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको पुतलासमेत जलाएका छन् ।

गाउँपालिकाको कार्यालयमा सूचनाको हक, सुशासन र पारदर्शिता कायम गर्नका लागि समितिमा आबद्ध व्यक्तिहरूले तालाबन्दी गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका स्थानीय नेता विनीत पाण्डेले बताए । गाउँपालिका अध्यक्ष विक्रम चौधरीले एउटा पनि कानून निर्माण नगरी असक्षमता प्रदर्शन गरेको उनको आरोप छ ।

उनले अध्यक्ष चौधरीले स्थानीय कानून नबनाउनु, प्रदेश र संघीय कानूनको कार्यान्वयन र परिपालन नगराउनु, सुशासन कायम नगर्नु, पारदर्शिता नगर्नु, कुशासनलाई बढावा दिनुलगायतका गतिविधि गरेर स्थानीय जनताका लागि अभिशापको रूपमा स्थापित भइरहेको आरोपसमेत लगाए ।

गाउँपालिका अध्यक्ष चौधरी भ्रष्टाचारमा आफैँ संलग्न हुनुका साथै सम्पूर्ण कर्मचारीतन्त्रलाई पनि संलग्न गराएर निकम्मा, गैरजिम्मेवार, गैरजवाफदेही, असक्षम एवं भ्रष्ट अध्यक्षको रुपमा स्थापित भएकोले त्यसको विरुद्धमा खबरदारी गर्न आन्दोलनको शुरुवात गरिएको पाण्डेले बताए ।



समितिले यसअघि मशाल जुलुस प्रदर्शन गर्नुका साथै गाउँपालिका कार्यालयको मुल गेटमा ६ दिनसम्म धर्नासमेत दिएको थियो ।



  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १७:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया