कोरोना कहर : सुदूरपश्चिमका मेडिकलमा पनि छैन सिटामोल

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेको छ । आइतबार मात्रै तीन सय ८७ जनामा कोरोना संक्रमण भएको छ । 

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार १ हजार ३७९ जनाको नमुना परीक्षण गर्दा ३ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । ३ सय ३४ सय जना एन्टिजेन र ५३ जनाको पिसीआरमार्फत संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कोरोना संक्रमित दर बढेपछि बजारमा पारा सिटामोलको अभाव देखिएको छ । बिरामीकोे मागअनुसार औषधि पसलहरुले सिटामोल दिन सकेका छैनन् । कुनै फार्मेसी पसलमा केही मात्रामा सिटामोल भए पनि केहीमा शून्य भएको छ । सुदूरपश्चिम प्रदेशको रिफरल अस्पताल सेती प्रादेशिक अस्पतालको फार्मेसीमा समेत पर्याप्त सिटामोल छैन । 

‘केही दिनयता पारा सिटामोलको माग धेरै छ,’ सेती प्रादेशिक अस्पतालकी मार्मेसी इन्चार्ज लक्ष्मी चौधरीले भनिन्, ‘हामीसँग भएको मौज्दात सिटामोल भनेको १५ सय ट्याब्लेट हो । एकजनालाई १० देखि २० ट्याब्लेट मात्र दिने गरेका छौँ ।’ माग धेरै भएको हुँदा पारा सिटामोलको अभाव देखिएको उनको भनाइ छ ।

आइतबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको नेतृत्वमा भएको अनुगनमा धनगढीका कुनै पनि मेडिकल तथा फार्मेसीमा पर्याप्त मात्रामा सिटामोल मौज्दात नभएको पाइएको हो । धनगढीको अमित मेडिसियन डिस्ट्रिब्युटर्स, द्वारिका डिस्ट्रिब्युटर्स र साझा स्वास्थ्य सेवामा अनुगमन गर्दा कहीँ पनि सिटामोल नभेटिएको हो ।

साझा स्वास्थ्य सेवाका फार्मेसी सहायक खडेन्द्रप्रसाद जोशीले एउटा पनि ट्याब्लेट नभएको बताए । ‘सिटामोल सकिएको एक हप्ता भयो । पेसेन्ट आए पनि दिन सक्ने अवस्था छैन ।’ उनले कम्पनीबाट माग गर्दा पनि पाउने अवस्था नरहेको बताए ।



सिटामोल अभाव भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको नेतृत्वमा अनुगमन गरिएको हो । अस्पतालहरूमा पारासिटामोलको अभावसँगै कालो बजारी हुन सक्ने भन्दै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला हिरालाल चौधरीले बताए । 

‘कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । संक्रमितका लागि पारासिटामोलको आवश्यकता पर्छ,’ अनुगमको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले भने, ‘बजारमा यसको अवस्था के छ भनेर हामीले अनुगमन गरेका हौँ । सिटामोल पर्याप्त मात्रामा रहेनछ । मौज्दात पनि धेरै रहनेछ ।’ 



एकै व्यक्तिले धेरै औषधि खरिद गरेकाले पनि बजारमा अभाव देखिएको हुनसक्ने उनले बताए । ‘सिटामोलको अभाव भएको खबरपछि मानिसले किनेर राख्ने पनि गरेको हुन सक्छ । सोही कारणले पनि अभाव देखिएको होला,’ उनले भने ।

अनुगमन टोलीमा सहभागी धनगढी उपमहानगरपालिकाका सिनियर अहेव डाक्टर कृष्ण बोहराले पनि बजारमा सिटामोल अभाव देखिएको बताए । उनले भने, ‘हामी अहिले फार्मेसी तथा औषधि पसल र औषधिका डिलरहरुको अनुगमनमा छौँ । सिटामोलको अभाव देखियो । अन्य एन्टिबायोटिक औषधिको मौज्दात भने  देखिएको छ ।’

सिटामोललाई सरकारले आधारभूत औषधिको रुपमा सूचीकृत गरेको छ । यो नेपालमै उत्पादन हुँदै आएको छ । 

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने स्वास्थ्य कार्यालयहरुमा सिटामोलको अभाव नदेखिएको बताए । उनले जिल्लाका १३ वटै पालिकाका स्वास्थ्य संस्थामा भने सिटामोल रहेको बताए । 

‘स्वास्थ्य कार्यालयसहित जिल्लामा १८ लाख एक हजार एक सय ४७ ट्याब्लेट मौज्दात छ । स्वास्थ्य कार्यालयमै आइतबारसम्म ४३ हजार ट्याब्लेट मौज्दात छ,’ उनले भने । उनले सरकारी स्वास्थ्य संस्थाहरुमा दुई महिनासम्म सिटामोलको अभाव नहुने दाबी गरे । आपूर्तिकर्ता र औषधि पसलहरुमा सिटामोलको अभाव देखिएकाले जिल्ला प्रशासनमार्फत केन्द्र सरकारलाई लेखेर पठाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताए ।

सिडिओ र एसपी तपाईंको मास्क खोइ ? भन्दै सडकमा

कोरोना संक्रमण बढेपछि कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापा र प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी तपाईंको मास्क खोइ ? भन्दै सडकमा उत्रिएका छन् । 

आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीदेखि ट्राफिक चौराहसम्म मास्क लगाएको –नलगाएको अनुगनमा सिडिओ र एसपीसहित सुरक्षा अधिकारी सडकमा उत्रिएका हुन् । मास्क लगाएर मात्र बाहिर आवतजावत गर्न नागरिकहरुलाई उनीहरुले आग्रह गरे ।

  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १८:४९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया