भक्तपुरमा बालिका सम्मेलन

भक्तपुर– सूर्यविनायक नगरपालिकामा प्रथम बालिका सम्मेलन सम्पन्न भएको छ । बुधबार नौ बुँदे घोषणापत्र जारी गर्दै दुईदिने सम्मेलन सम्पन्न भएको हो । 

नगरस्तरीय बाल संरक्षण तथा सम्वर्द्धन समितिको आयोजनामा भएको सम्मेलनले बालिकाको हकहितबारे घोषणापत्र एवं प्रतिबद्धतापत्र जारी गरेको छ ।

घोषणापत्रले बालिका त्रसित हुने गरी भइरहेका मानवताविरोधी अपराधका घटना रोक्न तथा दोषीलाई कडा कारबाही गर्न, स्थानीय सरकारले बालिका तथा किशोरीमा हुने बालविवाह, लैङ्गिक विभेद, महिनाबारीमा हुने छुवाछूत, शारीरिक तथा यौनजन्य दुर्व्यवहार र हिंसा निषेध गर्न माग गरेएको छ । 

नगरपालिकालाई बालमैत्री नगर बनाउन माग गर्दै बालबालिकाबारे मापदण्ड तयार गरी कार्य गर्न सम्मेलनले माग गरेएको छ ।

नगरपालिकाबाट बालबालिकाका लागि कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने, बाल दुर्व्यवहार, बालहिंसा, बालश्रम, बालविवाह र अन्य समाजिक कुरीतिबारे विद्यालय पाठ्यक्रममा समावेश गर्नुपर्ने, प्रत्येक विद्यालयमा किशोरीमैत्री शौचालय र निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्नुपर्नेलगायत माग घोषणापत्रमा छ । 

सम्मेलनमा नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका बालिकालाई स्वःआत्मरक्षा सीपसमेत प्रदान गरेको छ ।



१० वटै वडाका ११ देखि १९ वर्ष उमेर समूहका ११० बालिका एवं किशोरीको सहभागिता रहेको उक्त सम्मेलनमा नगरपालिकाका प्रमुख वासुदेव थापाले नगर क्षेत्रमा बालिका तथा किशोरीलाई हिंसाबाट जोगाउन र हिंसारहित नगर बनाउने लक्ष्यका साथ आत्मरक्षाको सीप प्रदान गरेको बताए । महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर बालबालिकाको क्षेत्रमा १८ लाख बजेट विनियोजन गरेको उनले बताए । 

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी, नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नगर बालकल्याण समितिका सचिव दिपेश विशुंके, युवाका साथ आवाज नेपालका अध्यक्ष राजेश घिमिरे, सचिव श्रीकृष्णजंग थापा, नगरस्तरीय बालकल्याण समितिका संयोजक दीपक विशुंंकेलगायतले बालिका सक्षम हुन सके मात्र मुलुक समृद्ध हुनेमा जोड दिए । 



  • प्रकाशित मिति : मंसिर १९, २०७५ बुधबार २०:११:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया