देउवालाई गठबन्धन गर्न नदिने प्रयासमा कोइराला पक्ष

सत्तामा रहेका पाँच दलबीच चुनावी गठबन्धन गर्ने तयारीमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा देखिएका बेला कांग्रेसभित्रै उनको कदमको आलोचना सुरु भएको छ । पार्टीमा छलफल नै नगरी निर्वाचनमा गठबन्धन गर्न अघि बढेको भन्दै नेता डा. शेखर कोइरालाले देउवाको आलोचना गरेका हुन् ।

सोमबार नजिकका नेताहरूसँग भर्चुअल माध्यमबाट छलफलका क्रममा शेखरले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।

‘गठबन्धन बनाएर कांग्रेस चुनावमा जानुहुँदैन । कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्नेमा हामी दृढ छौँ । कांग्रेसलाई गठबन्धन गर्न जरुरी छैन,’ ती नेताले भने, ‘सभापतिचाहिँ गठबन्धनसहित चुनावमा जाने स्थितिमा देखियो र पार्टीमा त्यसबारे छलफल नै भएको छैन ।’

ती नेताका अनुसार भर्चुअल बैठकमा गठबन्धनसहित चुनावमा जान चाहने देउवाको कदमलाई रोक्नुपर्नेबारे पनि कुरा भएको छ । बैठकमा महामन्त्री गगनकुमार थापा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाललगायत नेताहरू सहभागी थिए । 

निर्वाचनबारे आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्न बाँकी छ । बैठक नै नबस्दा निर्वाचनलाई लिएर पार्टीका नेताहरूले भिन्नभिन्न मत व्यक्त गर्दै आएका छन् । 

एकथरी नेताहरू निर्वाचन पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने र त्यसपछि क्रमशः प्रदेश र संघीय संसदको निर्वाचन गर्नुपर्ने पक्षमा छन् । गठबन्धन पनि स्वीकार नगर्ने पक्षमा छन् ।



कांग्रेसका मतदाताले रूख चिह्नबाहेक अन्य चुनाव चिह्नमा मतदान गर्न नसक्ने पनि नेताहरूबाट अभिव्यक्ति आउने गरेका छन् । यस्ता अभिव्यक्ति दिनेमा अधिकांश नेता डा. शेखरपक्षीय छन् । 

सभापति देउवानिकट नेताहरूले भने आवश्यकताअनुसार गठबन्धन हुन सक्ने बताउँदै आएका छन् । 



  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १८:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया