कांग्रेसमा दुई धारः देउवाको चाहना एउटा, इतरपक्षको अर्को

सत्तारुढ नेपाली कांग्रेसमा दुई धार देखिएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनको चाहनाअनुसार स्थानीय तथा संघीय निर्वाचनको कार्यतालिकामा काम गर्ने योजना बनाएका छन् । तर, कांग्रेसमा उनीइतर पक्ष चाहिँ स्थानीय तहको निर्वाचन वैशाखमा नै हुनु पर्ने अडानमा छन् ।

आज सभापतिमा देउवासँग पराजित शेखर कोइराला नेतृत्वमा बसेको एक भर्चुअल बैठकमा उनीनिकट नेताहरुले यही निष्कर्ष निकालेका छन् । 

यतिमात्र होइन, उनीहरुले सभापति देउवाले पार्टीमा छलफल नै नगरि गठबन्धनका नेताहरुसँग स्थानीय तहको निर्वाचनबारे छलफल गरेर गलत गरेको निष्कर्षसमेत निकालेका छन् । 

भर्चुअल छलफलमा कोइरालाले भने, ‘पार्टीभित्र पहिले साझा धारणा बनाएर मात्रै अन्य पार्टीसँग छलफल गर्नु पथ्र्यो, तर न्यायिक साझेदारी नै भएको छैन, गठबन्धनका नेतासँग भेटेर सभापति देउवाले आफूलाई अनुकूल निर्णय गर्नु हुँदैन ।’

उनले पार्टीभित्र निर्वाचन सार्ने कुरा कुनै पनि हालतमा गर्न नहुने भन्दै सभापतिले एक्लै निर्णय गरेकोमा आपत्ति जनाएका छन् । 

यसअघि गठबन्धनको बैठकमा सभापति देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले स्थानीय तहको निर्वाचन पनि असोजमा गर्ने छलफल गरेका थिए । 



कोइराला समूहको यो बैठकमा स्थानीय निर्वाचनमा पनि कांग्रेसले गठबन्धनलाई निरन्तरता दिन नहुने निष्कर्ष निकालेका छन् । ‘स्थानीय निर्वाचन वैशाखमा नै हुनुपर्छ, अनि पार्टीभित्र एकता कायम गरेर एक्लै निर्वाचनमा जानु पर्छ,’ कोइरालाले बैठकमा भनेका छन् ।

यो बैठकमा कोइरालानिकट नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, महामन्त्री गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत सहभागी थिए ।



  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार २०:५०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया