सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । प्रदेशमा सोमबार मात्रै ५ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ सय २६ जनाको एन्टिजेन र २२४ जनाको पिसिआर गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार २ सय ७९ जना सक्रिय संक्रमित पुगेका छन् । उनीहरूमध्ये ९२ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ । अन्य सबै होम आइसोलेसनमा रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको निर्देशनालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । सोमबार धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
पहिलो र दोस्रो लहरको कोरोना संक्रमण बेला यहाँका अस्पताल पनि भरिभराउ भएका थिए । कतिपयले अस्पतालमा बेड नै नपाएर ज्यानसमेत गुमाए । तेस्रो लहरको कोरोना संक्रमणमा त्यस्तो देखिएको छैन । अधिकांश संक्रमित अस्पताल पुगेका छैनन् ।
स्वास्थ्य अवस्था सामान्य रहेका कारण पनि संक्रमित अस्पताल भर्ना हुने दर कम रहेको हो । दोस्रो लहरको कोरोना संक्रमणको बेला भने अस्पताल भर्ना हुने दर उच्च थियो । त्यति बेला संक्रमितको स्वास्थ्य जटिलता हुने, शरीरमा अक्सिजन घट्ने, निमोनिया हुने, फोक्सोमा समस्या हुने जस्ता समस्या बढी थियो । यसपटक कमै संक्रमितमा मात्रै यस्तो समस्या देखिने गरेको चिकित्सकले बताएका छन् ।
सुदूरपश्चिममा सोमबारसम्म एक संक्रमित पनि भेन्टिलेटरको सहायताबाट उपचार गरिरहेका छैनन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत दुईजना संक्रमित मात्रै आईसीयुमा रहेका छन् ।
तेस्रो लहरको कोरोना संक्रमण उच्च रहे पनि संक्रमित अस्पताल भर्ना हुने दर न्यून रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । ‘खोप वा के कारणले हो, यो पटक संक्रमित अस्पताल भर्ना हुने दर निकै न्यून छ, यसबारे अनुसन्धान भइरहेको छ । यो हामी सबैको लागि खुसीको विषय हो,’ उनले भने ।
तेस्रो लहरका क्रममा अहिलेसम्म अस्पतालका धेरै बेडहरू खाली नै रहेका छन् । गम्भीर प्रकृतिका संक्रमित नआए पनि अस्पतालमा अक्सिजन आपूर्तिको क्षमता भने बढाइएको छ । यो पटक संक्रमित व्यक्तिमा कम स्वास्थ्य समस्या देखिनुमा खोपको प्रभावकारिता रहेको कतिपयको तर्क गरिरहेका छन् । तर, यसबारे विज्ञले अझै पुष्टि गरिनसकेको र अनुसन्धान गरिरहेको श्रेष्ठ बताउँछन् । ‘भाइरस म्युटेसन भएर आफै कमजोर भएको हो कि भन्ने पनि छ । तर, यो सबै खोजको विषय हो, पुष्टि भइसकेको छैन,’ उनले भने ।
ओमिक्रोनले विगत भेरियन्ट जस्तो स्वास्थ्यमा असर नपुर्याए पनि रोजगारीका लागि भारत गएका नेपालीको संख्या भने यसपालि पनि सीमानाकामा बाक्लो देखिएको छ । भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको संख्यामा बढेको हो । भारतबाट फर्किनेको संख्या बढेपछि सुदूरपश्चिममा कोरोना संक्रमण पनि बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।
भारतसँग सीमा जोडिएको बैतडीमा पनि कोरोना संक्रमित बढ्दै गएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टकाअनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्दा बढी जोखिममा बैतडी छ । ‘भारतसँग सीमा जोडिएकोले जिल्ला पनि उच्च जोखिममा छ,’ उनले भने । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४६ पुगिसकेको छ ।
संक्रमित बढेपछि सरकारी कार्यालयको सेवा प्रभावित
कोरोना संक्रमण बढेपछि सुदूरपश्चिम प्रदेशमा पनि स्थानीय तह तथा सरकारी कार्यालयको नियमित सेवा प्रवाह प्रभावित भएको छ । कर्मचारी नै संक्रमित हुन थालेपछि सरकारी कार्यालयको सेवा प्रवाह प्रभावित भएको हो ।
कैलालीको गोदावरी नगरपालिकाले कर्मचारीमा कोरोना देखिएपछि सार्वजनिक सेवा स्थगित गरेको छ । नगरपालिकाले कर्मचारी नै संक्रमित भएपछि माघ ९ देखि १५ गतेसम्म कार्यालय बन्द हुने भन्दै सूचना प्रकाशित गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले सो अवधिमा सरसफाइ, स्वास्थ्य र दमकललगायतका अत्यावश्यक सेवा भने जारी नै रहेको बताए । त्यस्तै, जिल्लाको जोशीपुर गाउँपालिकाको सेवा पनि प्रभावित भएको छ ।
गाउँपालिकाले मंगलबारदेखि १८ माघसम्मका लागि कार्यालयको काम बन्द गरेको सूचना प्रकाशित गरेको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय कैलालीले पनि आइतबारदेखि अत्यावश्यक सेवाबाहेक अरू सबै सेवा स्थगित गरेको छ । १५ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेक अन्य सबै सेवा स्थगित गरिएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सेवा स्थगित गरिएको हो ।
त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पनि सोमबारदेखि पाँच दिनका लागि कार्यालयको सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकामा कार्यरतमध्ये आठ कर्मचारीमा कोरोना पुष्टि भएपछि माघ १० देखि १४ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जानकारी दिए ।
त्यस्तै, डोटीको बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेनबाट गरिएको परीक्षणमा कर्मचारीमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा संक्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित भएका हुन् ।
त्यस्तै, कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अदालत बैतडीमा पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । अदालतले १८ माघसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।