निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति चाँडै तोक्न सरकारसँग आग्रह गरेको छ । आयोगले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै यथाशीघ्र मिति तोक्न सरकारलाई आग्रह गरेको हो ।
स्थानीय तहको चुनाव २०७४ सालको वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आउँदो २०७९ जेठ ५ मा सकिने आयोगले जनाएको छ ।
वर्तमान संवैधानिक एवं कानुनी व्यवस्थाको आधारमा स्थानीय तहको चुनावको मिति तोक्ने काम जति ढिलो हुँदै जान्छ त्यति नै व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जाने आयोगले जनाएको छ । ‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आउँदो स्थानीय तहको चुनावको मिति चाँडै तोक्न नेपाल सरकारसमक्ष निर्वाचन आयोग आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।