सुर्खेतमा भौतिक रुपमा कक्षा सञ्चालन गर्न शिक्षक संगठनको माग

भौतिक रुपमा कक्षा सञ्चालन गर्न एमाले निकट शिक्षक संगठनले माग गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सुर्खेतले विद्यार्थी र शिक्षकहरुलाई खोप लगाई शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने माग राखेको हो ।

संगठनले मंगलबार सुर्खेतका प्रमुख जिल्ला अधिकारीमार्फत शिक्षा विकास तथा प्रविधि मन्त्रालयमा ज्ञापन पत्रसमेत बुझाएको हो । 

अध्यक्ष रत्नबहादुर बुढा र सचिव डिलाराम भण्डारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सबै क्षेत्र विनारोकतोेक चलिरहेको अवस्थामा विद्यालय बन्द गराउनुको सट्टा शिक्षक विद्यार्थीलाई यथाशीघ्र खोपको व्यवस्था गरी स्वास्थ्यका मापदण्ड पूरा गरी शैक्षिक क्रियाकलापलाई सुचारु गर्नुपर्ने उल्लेख गरिएको छ । 

संगठनले नेपाली शिक्षकका पेसागत समस्या समाधानका लागि नेपाल शिक्षक महासंघ तथा पेसागत संघ–सगठनहरूसँग सरकारले गरेका सहमति इमानदारी साथ कार्यान्वयन गर्न समेत माग गरेको छ ।
 
शिक्षक सेवा आयोगको स्थायी पदपूर्तिका लागि गरिएको विज्ञापनमा वर्षौंदेखि निरन्तर कार्यरत राहत अनुदान तथा करारमा काम गरिरहेका शिक्षकको लागि उमेरको हदबन्दी लगाई प्रतिस्पर्धाबाट वञ्चित नगर्न पनि संगठनले माग गरेको हो ।
 
राहत र करारमा कार्यरत शिक्षकलाई सञ्चित बिरामी बिदाको रकमको व्यवस्था गरिनुपर्ने, जीवन विमाको व्यवस्था गरिनुपर्ने, लामो समयसम्म काम गरेका शिक्षकलाई दरबन्दीको व्यवस्था गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने, अस्थायी सेवा अवधि जोड्नुपर्ने, निश्चित समयमा बढुवा हुने व्यवस्था गर्नपर्ने  ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १९:४२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया