हुलाक बचत बैंकका बचतकर्ताको पीडा : दुई वर्ष धाउँदा पनि पाएनन् जम्मा गरेको पैसा

जिल्ला हुलाक कार्यालय बझाङका बचतकर्ता आफैँले जम्मा गरेको रकम झिक्नका लागि दुई वर्षदेखि संघर्ष गरिरहेका छन् । हुलाक बचत बैंकका बचतकर्ताले आफूले जम्मा गरेको रकमसमेत झिक्न नपाएका हुन् ।

तत्कालीन हुलाक कार्यालयका प्रमुखले हुलाक बचतको रकम अपचलन गरेपछि दुई वर्षयता रकम झिक्न नपाएको चैनपुरमा होटल व्यवसाय गर्दै आएकी ममता पन्तले बताइन् ।

‘हुलाकका कर्मचारीले रकमको दुरुपयोग गरे । तर, त्यसको सजाय हामीले भोग्नुपरेको छ । आपत्‍विपद्‍मा काम लगाउँला भनेर रकम जम्मा गरियो । आफ्नै पैसा पनि पाएको छैनौँ’ उनले भनिन् ।

हुलाक बचत बैंकमा जिल्लाभरका १ हजार ७०१ बचतकर्ताले रकम जम्मा गरेका छन् । रकम भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालय बझाङ, हुलाक कार्यालयलगायतका निकायमा बारम्बार अनुरोध गर्दा पनि अझै रकम पाउने सुरसार नभएको बचतकर्ताको गुनासो छ ।

सम्बन्धित निकायमा पटक-पटक जाने गरेको भए पनि माथिबाट अख्तियारी नआएको र केन्द्रीय हुलाक बैंकले रकम नपठाएको भन्दै रित्तो हात फर्कने गरेको अर्का बचतकर्ता हरिश खातीले बताए ।

‘हुलाक बैंकमा जम्मा गरेको मात्र १३ लाखभन्दा बढी रकम छ । तर, के गर्नु अहिले काम परेको बेला हातमा पैसा नै छैन,’ हरिसले भने ‘जागिरबाट कमाएको र पेन्सन रकम पनि यही हुलाकमा जम्मा गरेको थिएँ । यहाँ पनि हाम्रो पैसा सुरक्षित रहन सकेन ।’



खाइनखाइ बैंकमा जम्मा गरेको रकम आफूहरूले दुई वर्षसम्म पनि नपाएपछि घरपरिवारको खर्च टार्न समस्या भएको अर्का हुलाक बचतकर्ता खडक बोहराले सुनाए । थोरैथोरै रकम गरेर संकटमा प्रयोग गरौँला भनेर रकम जम्मा गरेको भए पनि तत्कालीन हुलाकका कर्मचारीका कारण अहिले आफूहरूले दुःख पाएको बोहराले बताए । उनै बोहराको संयोजकत्वमा बचतकर्ताले रकम भुक्तानीका लागि दबाब दिन संघर्ष समितिसमेत बनाएका छन् ।

तत्कालीन हुलाक कार्यालय प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायले १ हजार ७०१ जना बचतकर्ताको ५ करोड ७८ लाख ६४ हजार रुपैयाँ हिनामिना गरेका थिए । उनीहरूविरुद्ध अख्तियार दुरुपयो अनुसन्धान कार्यालयले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेको थियो । उक्त मुद्दाको सर्वोच्च अदालतले किनारा नलगाउँदा अहिलेसम्म पनि बचतकर्ताले रकम पाएका छैनन् ।



२०७६ साल पुष २३ गते अख्तियारको टोलीले हुलाक कार्यालयमा छानबिन गर्दा अनियमितता भएको पाइएपछि उक्त घटना बाहिरिएको थियो । घटना बाहिर आएको दुई वर्ष बितिसक्दा पनि अदालतले मुद्दा किनारा लगाएको छैन । त्यस्तै, उनीहरूबाट बिगो असुल पनि गर्न सकेको छैन । अहिले दुवै जनालाई अदालतले धरौटीमा रिहा गरेको छ । तत्कालीन कार्यालय प्रमुख रणबहादुर कडायतसँग १५ लाख र खरिदार शिवराज उपाध्यायसँग १२ लाख धरौटी लिएर रिहा गरेको थियो । त्यसपछि मुद्दा विचाराधीन अवस्थामा छ ।

यता हुलाक कार्यालय बझाङका प्रमुख राजेन्द्र बोहराले बचतकर्ताको रकम भुक्तानीका लागि केन्द्रीय हुलाक कार्यालयमा पहल भइरहेको बताउँछन् । सरकारी रकमको दुरुपयोग भएका कारण उक्त रकमको भुक्तानी प्रक्रिया लामो भएको बोहराले बताए । अहिले सञ्चार तथा सुचना मन्त्रालय, अर्थ मन्त्रालयबाट महालेखा नियन्त्रकको कार्यालयमा सिफारिस भइसकेको र केही समयमा नै उक्त रकम भुक्तानी हुने उनको भनाइ छ ।

जिल्ला हुलाक कार्यालयबाट आफूहरूले बारम्बार पल गर्ने गरेको भए पनि केन्द्रीय बैंकले रकम दिन नमान्दा समस्या भएको प्रमुख बोहराले बताए । हुलाक कार्यालयले सञ्चालन गर्दै आएको उक्त हुलाक बैंक सेवालाई अदालतले रोकेको छ ।

  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार २०:२०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया