नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा परिवार नै संलग्न रहेको तथ्य सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको हो ।
कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौंको कालोपुलमा बस्ने दिनेश खड्का, उनकी दिदी भगवती, बुबा नरबहादुर खड्का र केटी साथी अनिता धितालसमेत मिलेर अवैध कारोबार गरेको र विद्युतीय माध्यमबाट पैसा नेपाल भित्र्याएको पाइएको छ ।
उनीहरुले सामूहिक रूपमा मिलेमतो गरी इ स्क्रेल र निवांश प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न मितिमा सामान्य व्यक्तिको बैंक खातामा अस्वाभाविक रूपमा पैसा भित्रिएपछि नेपाल राष्ट्र बैंकले सूक्ष्मरूपमा अनुसन्धान गरेको थियो ।
विवरणअनुसार दिनेशको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा नौ करोड ७९ लाख ९८ हजार ५८१, अनिता धितालको नाममा रहेको लक्ष्मी बैंकको खातामा पाँच करोड ७७ लाख छ हजार ८२६, भगवती खड्काको नाममा रहेको एनआइसी एसिया बैंकमा २० करोड ४२ लाख ९४ हजार ५२६ र नरबहादुर खड्काको नाममा रहेको ग्लोबल आइएमबई बैंकको खातामा एक करोड ६४ लाख ११ हजार १०० बराबरको रकम भित्रिएको पाइएको छ ।
केन्द्रीय बैंकको सूचनाअनुसार प्रतिअमेरिकी डलरको १२० रुपैयाँ ३४ पैसाको हिसाबले हुन आउने ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
विभागकाअनुसार आरोपी खड्कालाई बिगो जफत गरी तीन वर्षबराबरको कैद सजायको माग गरिएको विभागले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।