महाेत्तरी- महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-३ मलिवारामा गए राति नेपाल-भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एकजनाको मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् ।
साे घटनामा बारा जिल्लाको देवताल गाउँपालिका-३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा बस्ने १८ वर्षीय सोनुकुमार ठाकुर, १६ वर्षीया चुनचुनदेवी ठाकुर र ३० वर्षीय मेघनाथ ठाकुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
देब्रे हात भाँचिएको आँखा र टाउकोमा चोट लागेका सोनुकुमार र देब्रे आँखा र हातमा चोट लागेकी चुनचुनदेवीको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ भने अनुहार तथा आँखामा गहिरो चोट लागेर घाइते भएका मेघनाथ ठाकुरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी उपरीक्षक कार्कीले बताए ।
धनुषाको जनकपुरबाट भारत बिहारको राजधानी पटनासम्म चल्ने बीआर०६पीसी ९२५१ नम्बरको बसले गए राति १० बजे जलेश्वर नगरपालिका–३ मलिवारामा विपरीत दिशाबाट चार जना चढेर आएको ज६प १६५० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।