प्राधिकरण र स्थानीय तहबीच पुनर्निर्माणसम्बन्धी ११ बुँदामा समझदारी

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहसँग पुनर्निर्माणसम्बन्धी ११ बुँदामा समझदारी गरेको छ । समझदारीपछि प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीय तहसँग पुनर्निर्माणसम्बन्धी कार्यको जिम्मेवारी हस्तान्तरण गर्नेछ ।

बुधबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले पुनर्निर्माणको कामलाई छिटो र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग छुट्टाछुट्टै समझदारी गर्ने निर्णय गरेको हो । यसअघि, प्राधिकरणले काभ्रे जिल्लाका सबै स्थानीय तहसँग छुटाछुट्टै समझदारी गरेको थियो । 

समझदारीका लागि तयार पारिएको समझदारीपत्रमा नगरपालिका तथा गाउँपालिकामा इन्जिनियर, सबइन्जिनियर, असिस्टेन्ट सबइन्जिनियर र डकर्मी आवश्यकताअनुसार खटाउने सहमति भएको छ । यस्तै, प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका र गाउँपालिकाको हुनेछ । 

यस्तै, नगरपालिका र गाउँपालिकाले प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनर्निर्माणको काममा मात्रै लगाउनुपर्ने बताइएको छ । स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजनाहरू गुम्बा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले सर्तसहित नगरपालिका र गाउँपालिकामा निकासा उपलब्ध गराउने व्यवस्था मिलाउन सक्ने बताइएको छ । 

नगरपालिका र गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनर्निर्माण कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने र यसमा प्राधिकरणले आवश्यक सहयोग गर्ने उल्लेख छ ।

समझदारीपत्रमा पुनर्निर्माणको कार्यान्वयनको सिलसिलामा केही जटिलता एवं समस्या आइपरेमा प्राधिकरण तथा नगरपालिका र गाउँपालिकाले आपसी समझदारी कायम गरी कार्यान्वयनलाई अगाडि बढाइने उल्लेख गरिएको छ । हाल भूकम्प प्रभावित ३२ जिल्लाका २ सय ७२ स्थानीय तहमा पुनर्निर्माणका काम भइरहेका छन् । 
 





  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार ११:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया