नेपालमा पछिल्लो १० वर्षमा २६ लाख ९७ हजार ९७६ जनसंख्या बढेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार हाल नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
यसअघि २०६८ सालमा गरिएको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६८ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षको बीचमा १०.१८ प्रतिशतले बढेको पाइएको छ । तर, जनसंख्या वृद्धिदर भने विगत ८० वर्षयताकै कम देखिएको छ ।
विक्रम संवत् १९९८ मा गरिएको चौथो जनगणनाअनुसार नेपालमा जनसंख्या वृद्धिदर १.१६ प्रतिशत थियो । त्यसअघि भने नेपालको जनसंख्या वृद्धिदर ऋणात्मक थियो । १९९८ को जनगणनापछि अहिले जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा तल झरेको छ । २०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत देखिएको छ । जुन ८० वर्षयताकै कम हो ।
२०६८ सालको जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर थियो । यस पटकको जनगणनामा पुरुषको भन्दा महिलाको जनसंख्या बढी देखिएको छ । हुन त यसअघि अघिल्लो जनगणनामा पनि महिलाको जनसंख्या बढी नै थियो । अहिले महिलाको संख्या एक करोड ४९ लाख १ हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ छ ।
नेपालमा विक्रम संवत् १९६८ सालदेखि जनगणना सुरु गरिएको थियो । त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३९ हजार थियो । त्यसपछि १९७७ मा गरिएको दोस्रो जनगणनामा त्यो संख्या घटेर ५५ लाख ७३ हजार ७८८ थियो । जुन ०.१२ प्रतिशतले घटेको थियो ।
त्यस्तै, १९८७ मा गरिएको तेस्रो जनगणनाअनुसार नेपालको जनसंख्या घटेर ५५ लाख ३२ हजार ५७४ थियो । जुन ०.०७ प्रतिशतले घटेको थियो । त्यसपछि १९९८ मा गरिएको चौथो जनगणनामा भने जनसंख्या बढेर ६२ लाख ८३ हजार ६४९ पुगेको थियो । त्योबेला जनसंख्या बृद्धिदर १.१६ प्रतिशत थियो ।
त्यसपछिका हरेक जनगणनामा भनेर एक प्रतिशत भन्दा बढी नै जनसंख्या वृद्धिदर थियो । तर, २०७८ को ११ औं जनगणनाअनुसार भने एक प्रतिशतभन्दा कम वृद्धिदर देखिएको हो । यसको पछाडि वैदेशिक रोजगारी, जनचेतनाको स्तर बढ्नुलगायतका कारण देखिएको विभागले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।