राष्ट्रियसभा निर्वाचन : प्रदेश १ का तीन प्रतिनिधि अनुपस्थित, मत परिणाम आजै
फाइल तस्वीर

राष्ट्रियसभाको निर्वाचन अन्तर्गत प्रदेश १ मा आज भएको निर्वाचनमा ३ जना अनुपस्थित भएका छन् । दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद राष्ट्रियसभा निर्वाचनको मतदानमा अनुपस्थित भएका छन् ।

स्थानीय तहतर्फ २७० र प्रदेशसभा सदस्यतर्फ ९१ मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले बताए ।

आज भएको मतदानमा झापाको गौरीगंज गाउँपालिका प्रमुख बाबुरामका श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भए । श्रेष्ठ छोरीको विवाह र कार्की स्वास्थ्यसम्बन्धी समस्याका कारण निर्वाचनमा मत खसाल्न आएनन् ।

प्रहरीको खोजी सूचीमा रहेकी एमाले सांसद गुलेफुन मिया पनि मत हाल्न आइनन् ।  प्रदेश-१ बाट तीन राष्ट्रियसभा सदस्यका लागि आठ उमेदवार चुनावी मैदानमा छन् ।

गठबन्धनबाट खुलामा कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा समाजवादीकी जयन्ती राई र अल्पसंख्यक वा अपांग कोटामा जसपाका हेमराज राई छन् ।

एमालेबाट खुलामा गुरु बराल, महिला सुमित्रा भण्डारी र अल्पसंख्यकमा सोनाम ग्याल्जेन शेर्पा छन् । राप्रपाबाट अमर बिष्ट र रन्जु प्याकुरेल उमेदवार छन् । एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरू नैनकला ओझा, अगम प्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरूङको पदावधि आगामी फागुन २० मा सकिँदैछ ।



यसैबीच परिणाम पनि आजै आउने निर्वाचन कार्यालयले जनाएको छ । 'कुनै खालको बाधा अवरोध नभए मतदान सकिएको चार घण्टाभित्रमा मतपरिणाम आइसक्छ,’ प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले भने, ‘करिब ११ सय मतपत्र गन्नुपर्ने भएकोले केही ढिला हुने भएको हो ।’

निर्वाचन कार्यालयले खुलातर्फ, महिलातर्फ र अल्पसंख्यक वा अपांग कोटाका लागि छुट्टाछुट्टै मतपत्र बनाएको छ । मतदान पनि सोहीअनुसार भएको हो ।



  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १५:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया