राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनसामु झन् खुम्चियो एमाले

१३ महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनपछि कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय राजनीतिक गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई फेरि पराजित गरेको छ । १९ सिटका लागि बुधबार भएको निर्वाचनमा एक सिटमा एमालेले चित्त बुझायो ।

एमालेले निर्वाचन जित्ने आस गरेको भनेको प्रदेश १ मा थियो । त्यहाँ सत्ता गठबन्धन र एमालेबीच झिनो मतभारको अन्तर थियो । त्यही भएर कतै मतदाता ‘अदलबदल’ हुन पुगेको अवस्थामा जित हुन्छ कि भन्ने आस एमालेको थियो । नभन्दै एक सिट त्यहीँदेखि एमालेले जित्यो । जित्ने उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा हुन् ।

अन्य प्रदेशमा भने मतदाताको प्रारम्भिक गणित हेर्दै गठबन्धन स्पष्ट जितको सम्भावना नजिक भएको आकलन थियो । सोही कारण प्रदेश १ बाहेकका प्रदेशमा जितको सम्भावना एमालेले देखेको थिएन ।

जबकि, १९ सिटमध्ये २० फागुनमा पदावधि सकिने भएका एमालेकै ८ जना राष्ट्रियसभा सदस्यको स्थानमा पनि निर्वाचन भएको हो । उनीहरू अगमप्रसाद वान्तावा, परशुराम मेघी गुरुङ, नैनकला ओझा (प्रदेश १), सुमनराज प्याकुरेल (मधेस प्रदेश), कोमल वली, रामलखन चमार (लुम्बिनी), कविता बोगटी (कर्णाली) र चक्रप्रसाद स्नेही (सुदूरपश्चिम) को स्थानमा निर्वाचन भएको हो ।

यस्तै, माओवादी केन्द्रको ४, नेकपा एकीकृत समाजवादीको ४ र नेपाली कांग्रेसको तीन जना राष्ट्रियसभा सदस्यको स्थानमा पनि निर्वाचन भएको हो ।

माओवादीका चार जना शशीकला दाहाल (मधेस), दिननाथ शर्मा, खिमकुमार विक (गण्डकी) र जीवन बुढा (कर्णाली), नेकपा एकीकृत समाजवादीको उदया शर्मा पौडेल (बागमती), शान्तिकुमारी अधिकारी जिसी (गण्डकी), ठगेन्द्रप्रकाश पुरी (कर्णाली) र शेरबहादुर कुँवर (सुदूरपश्चिम) को स्थानमा पनि निर्वाचन भयो ।



गठबन्धनका उम्मेदवारले सबै सिटमा निर्वाचन जिते । जित्नेहरू नेकपा (एस) कि जयन्ती राई, कांग्रेसका गोपालकुमार बस्नेत (प्रदेश १) र मधेस प्रदेशमा माओवादीकी उर्मिला अर्याल र जसपाकै मोहमद खालिद सिद्धिकी निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा कांग्रेसका कृष्णप्रसाद पौडेल, नेकपा (एस) कि गोमादेवी तिमिल्सिना, गण्डकी प्रदेशबाट कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका सुरेश आले मगर, भुवन सुनार र लुम्बिनीबाट नेकपा एसका राजेन्द्रलक्ष्मी गैरे, जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा निर्वाचित भएका छन् ।



कर्णाली प्रदेशबाट कांग्रेसकी दुर्गा गुरुङ, माओवादीका नरबहादुर विष्ट, नेकपा एसका उदयबहादुर बोहरा र सुदूरपश्चिम प्रदेशबाट नेकपा एसकी मदनकुमारी बोहरा, माओवादी केन्द्रका जगतबहादुर पार्की र कांग्रेसका नारायणदत्त मिश्रले निर्वाचत जितेका छन् ।

गठबन्धनको विजय यात्रा

कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनले गएको २६ वैशाखदेखि १५ कात्तिकसम्ममा एमाले नेतृत्वको चार प्रदेश सरकार ढाल्यो । ती प्रदेश सरकार हुन् – प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी । चारवटै प्रदेशमा गठबन्धनले बहुमतीय सरकार गठन गरिसकेको छ ।

यी चारमध्ये नेकपा एसले प्रदेश १ र बागमतीमा, गण्डकीमा, कांग्रेसले र लुम्बिनीमा माओवादी केन्द्रले सत्ता गठन गरेका छन् ।

पहिले माओवादीले नेतृत्व गरेको कर्णाली प्रदेशमा हाल कांग्रेस, सुदूरपश्चिम प्रदेशमा माओवादी नै र मधेस प्रदेशमा जसपाकै नेतृत्वमा सरकार छ ।

यसरी ६ महिना नपुग्दै चार प्रदेश सरकार एमालेले गुमाउनुपर्‍यो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको केन्द्र सरकार पनि २८ असारमा सर्वोच्च अदालतबाट जारी परमादेशपछि ढल्यो र गठबन्धनबाट शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पुगे ।

यसरी केन्द्र र चार प्रदेश सरकार गुमाएको एमालेले ७ जेठमा बागमतीमा र १७ जेठमा लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा पनि पराजय बेहोर्‍यो । गठबन्धनको बागमती प्रदेशका उम्मेदवार डा. खिमलाल देवकोटा (नेकपा एस) र लुम्बिनीबाट दृगनारायण पाण्डेय (कांग्रेस) निर्वाचित भए ।

गठबन्धन भएर चुनाव लड्दा राजनीतिक लाभ प्राप्त गरे पनि आगामी स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा भनेसँगै निर्वाचन लड्छ भन्नेमा गठबनधनमा शंका छ ।

कारण – एक्लै निर्वाचन लड्ने आवाज कांग्रेसमा चर्को गरी उठ्दै जानु । गठबन्धन नगरी एक्लै निर्वाचन लड्नुपर्ने बताउने नेताहरू कांग्रेसका संस्थापन इतरका हुन् । उनीहरूले कांग्रेसी मतदाताले रूख चिह्नबाहेकका चिह्नमा मतदान गर्दैनन् भन्दै आएका छन् ।

त्यही भएर गठबन्धन हुन्छ भन्ने निश्चित छैन । एमालेको गठबन्धन भत्काउने स्पष्ट चाहना छ ।  संघीय संसदमा जारी अवरोध हटाउनबारे २४ पुसमा बालकोटस्थित निवास पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गर्दा एमाले अध्यक्ष ओलीले पहिले गठबन्धन टुटाउनुपर्ने शर्त राखेका थिए ।

एमाले गठबन्धन टुटाउने चाहना रहँदा कांग्रेसको संस्थापन इतर पक्षलाई पनि गठबन्धनप्रति अरुचि छ । सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने गठबन्धनबारे मुख खोलेका छैनन् ।

उनीनिकट नेता रामहरि खतिवडा भने सबै ठाउँमा निर्वाचन नभए पनि गठबन्धनका अन्य पार्टीका प्रमुख नेताहरूलाई निर्वाचन जिताउन भने गठबन्धन हुने बताउँछन् ।

इतर पक्षका नेता डा. शशांक कोइराला, महामन्त्रीमा निर्वाचित महामन्त्री गगनकुमार थापासहित केही नेताहरू बारम्बार कांग्रेस एक्लै चुनाव लड्छ भन्दै आएका छन् ।

गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १९:४७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया