राष्ट्रिय सभा निर्वाचन : मधेस प्रदेशमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । निर्वाचनको मत परिणामअनुसार पाँच दलीय गठबन्धनका उम्मेदवारद्वय खालिद सिद्धिकी र उर्मिला अर्याल विजयी भएका हुन् ।

जनता समाजवादी पार्टीका सिद्धिकी अन्य समूहबाट र नेकपा माओवादी केन्द्रकी अर्याल महिला समूहबाट विजयी भएकी छन् ।

महिला समूहबाट विजयी भएकी अर्यालले ६ हजार १५६ मतभार ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–लोसपा गठबन्धनबाट महिलातर्फकी उम्मेदवार रुपाकुमारी यादवले २ हजार ७५४ मतभार ल्याएकी हुन् ।

त्यस्तै, नेकपा एमालीकी उम्मेदवार विना देवीको ३०६ मतभार आएको छ । महिला समूह तर्फको मतदानमा प्रदेश तर्फ ३ र स्थानीय तर्फ १६ गरी कूल १९ मतदाताको मत बदर भएको थियो । यस हिसाबले ४३२ मतभार बदर भएको हो ।

यता अन्य समूहबाट जसपाका उम्मेदवार सिद्धिकीले ६ हजार ६७८ मतभार ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–लोसपा गठबन्धनबाट अन्य समूहका उस्मान अन्सारीले २ हजार ७६६ मतभार ल्याएका छन् ।

अन्य समूहतर्फको मतदानमा प्रदेश तर्फ २ र स्थानीय तर्फ ६ गरी कूल ८ मतदाताको मत बदर भएको थियो । यस हिसाबले २०४ मतभार बदर भएको हो ।



निर्वाचनमा मधेस प्रदेशमा ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका थिए । प्रदेशसभा तर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको थियो । प्रदेशसभा सदस्यतर्फ ३६ महिला र ६६ पुरुष तथा स्थानीय तहतर्फ १३२ महिला र १३२ पुरुषले मत खसालेका थिए ।

प्रदेश सभा सदस्य तर्फ २ जना र स्थानीय तहतर्फ ४ जनाले मत खसाल्न सकेका थिएनन् । राष्ट्रियसभा सदस्य चुनावका लागि मधेस प्रदेशमा दुई पदमा ४ दलबाट ५ जनाको उम्मेदवारी परेको थियो ।



सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दिएकी थिइन भने जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दिएका थिए ।

लोसपा–एमाले गठबन्धबाट महोत्तरीकी रूपा यादवे महिला कोटामा उम्मेदवारी दिएकी थिइन भने अन्य समूहबाट पर्साका उस्मान अन्सारीले उम्मेदवारी दिएका थिए ।

मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको थियो । लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

मधेस प्रदेशमा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् ।

स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ गरी कूल ९ हजार ८१६ मतभार रहेको छ ।

यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको २ हजार २६२, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ ।

  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १९:५८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया