पावेलको शतकमा इंग्ल्याण्डविरुद्ध वेस्ट इण्डिज विजयी

इंग्ल्याण्डविरुद्धको टी-२० सिरिजको तेस्रो खेलमा घरेलु टोली वेस्ट इण्डिज २० रनले विजयी भएको छ । यो जितसँगै पाँच खेलको सिरिजमा उसले २–१ को अग्रता लिएको छ । आज बिहान भएको तेस्रो खेलमा वेस्ट इण्डिजले दिएको २२५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनायो ।

उसका लागि टम ब्यान्टनले ३९ बलमा ६ छक्का र तीन चौकासहित ७३ रनको पारी खेले । त्यस्तै, फिल साल्टले २४ बलको सामना गर्दै पाँच छक्का र तीन चौकाको सहयोगमा ५७ रनको योगदान दिए पनि टिमलाई भने जित दिलाउन सकेनन् । 

जेसन रोय १९, जेम्स भिन्स १६, लियाम लिभिङस्टोन ११ र ह्यारी ब्रुक १० रनमा आउट भए । तेस्रो टी-२० मा इयोन मोर्गनको अनुपस्थिततिमा इंग्ल्याण्डको कप्तानी मोइन अलीले गरेका थिए । उनी शून्यमै आउट भए । बलिङमा रोमारियो सेफर्डले तीन, किरण पोलार्डले दुई, जेसन होल्डर, सेल्ड्रन कोट्रेल र अकील होसेनले एक/एक विकेट लिए । 

त्यसअघि, बार्बाडोसस्थित केन्सिङ्टन ओवलमा टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२४ रन बनायो । उसका लागि रोभम्यान पावेलले शतकीय पारी खेले । उनले ५३ बलमा १० छक्का र चार चौकाको सहयोगमा १०७ रन बनाए । 

त्यस्तै, निकोलस पूरनले ४३ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ७३ रनको पारी खेले । ब्रेण्डन किंगले १० र रोमारियो सेफर्डले अविजित ११ रनको योगदान दिए । बलिङमा आदिल राशिद, लियाम लिभिङस्टोन, ट्यामल मिल्स, जर्ज गार्टन र रीसी टोप्लेले एक/एक विकेट लिए । वेस्ट इण्डिज र इंग्ल्याण्डबीचको तेस्रो टी-२० म्याच आइतबार हुनेछ ।
 





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार ७:४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया