मन्त्री रेणु यादवविरुद्ध कांग्रेस नेता रञ्जित कर्णले दिएको उजुरीमा के छ ?
फाइल तस्वीर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध उजुरी परेको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सार्वजनिक ठाउँमा ज्यान मार्ने धम्की दिएकी मन्त्री यादवविरुद्ध हुलाकमार्फत रौतहट प्रहरीलाई जाहेरी पठाइएको हो ।

पाँच दलीय सत्ता गठबन्धनमा सामेल नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य रञ्जित कर्णले मन्त्री यादवलाई कारबाही गर्नुपर्ने माग गर्दै हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएका हुन् ।

कर्णले भने, ‘जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा उनीहरूले लिन मानेनन्, पछि हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको हुँ ।’

‘जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन गएको थिएँ,’ उनले थपे, ‘तर प्रहरीले घटना रौतहटको रहेकाले यहाँ दर्ता नहुने भनेपछि हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको छु ।’

‘मन्त्रीको अभिव्यक्तिले दुई समुदायबीच द्वन्द सृजना भई सोबाट जातीय, धार्मिक, क्षेत्रीय सम्प्रदायीक दंगा फैली दुई समुदायबीच राष्ट्रिय एकतासमेत असर पर्ने भएकाले अन्यायी मन्त्रीको अभिव्यक्ति मुलुकी अपराध संहिता २०७४ को दफा ४९(४) विरुद्ध रहेकोले ऐ. संहिताको दफा ५(ग) बमोजिम हदैसम्मको कैद र जरिमानासमेत गरी पाऊँ'–कर्णले पठाएको जाहेरीमा उल्लेख छ ।



कर्णले मन्त्री यादवलाई पदमुक्त गर्न सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत ज्ञापनपत्र पठाएका छन् । मन्त्री यादवलाई पदमुक्त गर्दै कानुनबमोजिम कारबाही गर्न कर्णले अनुरोध गरेका छन् ।

मन्त्री यादवको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ ।



उनको सो अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुनबमोजिम कारबाही गर्न ज्ञापन पत्रमार्फत अनुरोध गरिएको छ ।

मन्त्री यादवले माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।

  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १७:१५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया