श्रीमान् जोबाट मारिए, उनीहरुकै सहयोगमा राष्ट्रिय सभा सदस्य बनिन् दुर्गा

भर्खरै राष्ट्रिय सभा सदस्यमा कर्णाली प्रदेशबाट महिलातर्फ निर्वाचित दुर्गाकुमारी गुरुङ भारतमा जन्मिएकी हुन् । उनका बुवा लीलाराम गुरुङ भारतीय सेना भएका कारण आमा स्यानादेवी गुरुङ पनि बुवासँगै भारतमा रहेका बेला ०२६ सालमा पहिलो सन्तानका रुपमा उनी जन्मिइन् ।

दुर्गा जन्मिएपछि उनकी आमा नेपालमै बस्न थालिन् । वीरेन्द्रनगर नगरपालिका वडा नं १ ढोडेखालीमा उनको बाल्यकाल बित्यो । लाहुरे खान्दानी परिवार भएका कारण उनले बाल्यकालमा दुःख झेल्नुपरेन ।
 
विद्यालय पढ्दै गर्दा उमेरले भर्खरै १५ लागेकी दुर्गाको प्रेम सोही ठाउँका यज्ञबहादुर गुरुङसँग बस्यो । उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत भयो । २०४० सालमा दुर्गा वैवाहिक बन्धनमा बाँधिइन् । 

लाहुरे खान्दानी परिवारमा हुर्किएकी दुर्गाले अब राजनीतिक संस्कार पनि सिक्नुपर्ने भयो । किनकि उनका श्रीमान् विद्यार्थी राजनीतिमा सक्रिय थिए । राजनीतिमा सक्रिय रुपमा लागेका उनका श्रीमान् राजनीति छोडेर अन्य पेसा अँगाल्नेवाला थिएनन् । 

राजनीतिबारे खासै चासो र ज्ञान नभएकी दुर्गा श्रीमानकै साथ र प्रभावमा राजनीतिमा प्रवेश गरिन् ।  श्रीमान् नेपाल विद्यार्थी संघमा रहेर विभिन्न पदमा काम गर्न थाले । दुर्गा पनि सँगसँगै वडा र नगरका विभिन्न महिला संगठनमा नेतृत्व लिन थालिन् । 

सरल स्वभाव र समाजसेवामा अत्याधिक लगाव भएका दुर्गाका श्रीमान् निरन्तर राजनीतिमै सक्रिय थिए । भाषणले मोहित बनाउने कला भएका उनका श्रीमान् ०५८ सालमा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष थिए ।
 
संकटकालमा पनि पार्टी र जनताको सेवामा निरन्तर लागेका यज्ञ गुरुङलाई २०५८ साल पुस २७ गते साँझ ७ बजेतिर खाना खाँदै गर्दा तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले गोली हाने । वीरेन्द्रनगर १ ढोडेखालीमा रहेको आफ्नै घरमा खाना खाँदै गर्दा छाती र कन्चटमा गोली लागेका दुर्गाका श्रीमानको अस्पताल लैजाँदा–लैजाँदै मृत्यु भयो ।



श्रीमान् यज्ञबहादुरका साथमा दुर्गा


 त्यसपछि दुर्गाका दुःखका दिन सुरु भए । श्रीमानलाई विद्रोही पक्षले हत्या गरेपछि दुर्गा घरमा बस्न सकिनन् । उनी छोरालाई लिएर काठमाडौं हानिइन् ।
 
३२ वर्षको उमेरमा जीवनको सहारा गुमाएकी दुर्गाले छोरालाई नै सहारा मानेर उनकै पढाइ र उज्वल भविष्यमा तल्लीन हुने अठोट लिइन् ।  राजनीतिलाई उनले थाँती राखिन् । 



०६४ सालको संविधान सभाको निर्वाचनमा पनि उनलाई पार्टीले समानुपातिक सांसदको सूचीमा राखेको थियो । सो निर्वाचनमा कांग्रेसको पक्षमा राम्रो नतिजा नआएपछि दुर्गा सांसद बन्न पाइनन् ।

श्रीमानले राजनीतिबाटै देश र जनताको सेवा गर्ने भनी लिएको अठोट र  देखेको सपना दुर्गाको सपना भइसकेको थियो । तर, उनी छोराको बाल्यकाल भने आफूबाट टाढा राख्न चाहँदैनथिन् । त्यसैले छोरा सक्षम नहुञ्जेल राजनीतिमा नर्फकने सोच बनाएकी थिइन् । 

हाल दुर्गाका छोरा र बुहारी युकेमा छन् । पार्टीले कुनै दिन त मूल्यांकन गर्ला नि भन्दै दिन गनेर बसेकी दुर्गालाई अहिले नै यसरी राष्ट्रिय सभा सदस्यका लागि पार्टीले सिफारिस गर्ला र निर्वाचित भइएला भन्ने लागेकै थिएन ।
 
‘राजनीति मेरो भन्दा पनि श्रीमानको सपना थियो,’ उनले भनिन्, ‘२१ वर्षपछि मेरो श्रीमानको आत्माले शान्ति पाएको छ । उहाँको सपना अब म पूरा गर्न जाँदै छु ।’ 

नेपाली कांग्रेसमा रहेर पार्टीको विभिन्न तहमा काम गरेका दुर्गाका श्रीमानलाई विद्रोही पक्षले जासुसी गरेको आरोपमा गोली हानेको थियो । 

‘हिजो विद्रोही पक्षले नै उहाँको हत्या गर्यो,’ उनले मलीन हुँदै थपिन्, ‘आज मेरो जितमा पनि त्यही पक्षको साथ भयो । यो कस्तो संयोग होला ?
  
दुर्गाका लागि यो पहिलो पदीय अनुभव हो । यसअगाडि कुनै पनि पदमा रहेर काम गरेको अनुभव उनमा छैन । सही समयमा पार्टीले गरेको उचित मूल्यांकनकै कारण आफू निर्वाचित भएको उनले सुनाइन् । 

पार्टीले दिएको जिम्मेवारी र प्रतिनिधिले गरेको विश्वासलाई कुल्चिन नदिने गरी काम गर्ने दुर्गाले बताएकी छन् ।

  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार २१:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया