काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय शिक्षा प्रवद्र्धक प्रतिनिधि समूह (आइरिन)ले स्थापनाको पाँचौं वर्ष पुगेको अवसरमा बानेश्वर काठमाडौंमा रहेको सिद्धेश्वर माविमा पुस्तकालय निर्माण गरेको छ । नवनिर्मित पुस्तकालयको बुधबार एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरियो ।
पुस्तकालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा संघीय सांसद प्रकाशमान सिंहले आइरिनले लिएको उद्देश्यको खुलेर प्रशंसा गरे । उनले अहिले विद्यालयका नानीबाबुलाई अध्ययन गर्न वातावरण बनाउनु महत्त्वपूर्ण भएको र यो अभियानमा आइरिनले सहयोग गरेकाले समुन्नत समाज निर्माणको परिकल्पना हुने विश्वास व्यक्त गरे ।
‘अहिले हाम्रा नानीहरूलाई पढाउनुपर्छ, निजी क्षेत्रले पनि यसमा ध्यान दिएकाले भोलिको हाम्रो समाज अध्ययनशील र समुन्नत हुने विश्वास लिन सकिन्छ,’ सिंहले भने, ‘विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई अध्ययन सहज होस् भन्न हामीले यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्छ ।’
कार्यक्रममा आइरिनका निवर्तमान अध्यक्ष प्रेम पाण्डेले यस्ता कार्यक्रम बर्सेनि गर्ने प्रतिबद्धता जनाए । उनले विद्यालयमा पुस्तकालय स्थापना गरेर विद्यार्थीलाई पढ्ने वातावरण निर्माण गर्न सहयोग गर्ने संस्थाका सबै प्रतिनिधिलाई धन्यवाद पनि दिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रभाकरले आइरिनले आफ्नो विद्यालयमा पुस्तकालय स्थापना गरेर विद्यालयलाई थप गुणस्तरीयतामा लाग्न सहयोग गरेको भन्दै विद्यार्थीमा नियमित अध्ययन गर्ने बानी विकास गर्ने प्रतिबद्धता जनाए । उनले आइरिनबाट पुस्तकालयका लागि आएका पुस्तक विद्यालयका शिक्षक र विद्यार्थी दुवैका लागि उपयोगी हुने बताए ।
आइरिनले ‘पढौं र पढाऔं’ भन्ने उद्देश्यका साथ बर्सेनि कम्तीमा पनि एउटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने घोषणा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।