नेकपा एमालेका सचिव गोकर्ण विष्टले गठबन्धन सरकार संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
उनले वैशाखभित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगले सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने चुनाव टार्ने प्रपञ्च गरिरहेको आरोप लगाएका हुन् ।
‘यतिबेला सरकारमा सामेल पार्टीहरू संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधिविहीन बनाउने षडयन्त्रमा तल्लिन छन् । निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटकपटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ,’ नेता विष्टले फेसबुकमा लेखेका छन् ।
उनले आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुनसक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरू संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन नसक्ने दाबीसमेत गरेका छन् ।
‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुनसक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन,’ पूर्वमन्त्री समेत रहेका विष्टले भनेका छन् ।
उनले लोकतान्त्रिक अभ्यासबाट नभाग्न र संविधानको कार्यान्वयन गरी अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न पनि माग गरेका छन् । ‘लोकतान्त्रिक अभ्यासबाट नभाग, संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर,’ नेता विष्टले लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।