वैदेशिक रोजगारः नौ महिनामा करिव साढे तीन लाखले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य मात्रामा घटे पनि यस वर्ष भने उत्साहजनक रुपमा वुद्धि भएको छ ।   

वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा नेपाल भित्रने रेमिट्यान्समा गिरावट आएको थियो जसले समग्र नेपालको अर्थतन्त्रमा समेत असर गरेको छ । 

वैदेशिक रोजगार विभागका अनुसार यस वर्ष अर्थात २०७८ सात सुरु भएयताको ९ महिना (वैशाखदेखि पुससम्म)मा वैदेशिक रोजगारीमा जान ३ लाख ४६ हजार १४३ जनाले अन्तिम श्रम स्वीकृति लिइसकेका छन् । श्रम स्वीकृति लिनेहरू धेरैजसो वैदेशिक रोजगारीमा गइसकेका छन् । 

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना (साउनदेखि पुससम्म)मा कूल २ लाख ९७ हजार ३६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

अहिलेकै गतिमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्याले थप ६ महिनासम्म निरन्तरता पाए चालु आर्थिक वर्षको अन्तसम्म करिव ६ लाख नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको हुनेछन् । 



सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस देखिएपछि यसले केही दिनमै महामारीको रुप लिएको थियो । त्यसपछि कोरोना भाइरस विश्वभर फैलिएको थियो र यसको आतंक अहिलेसम्म पनि जारी छ । 

कोरोना महामारी नियन्त्रण गर्न विश्वका अधिकांश देशले लकडाउन गरेका थिए जसका कारण वैदेशिक रोजगारीमा नयाँ कामदार जानेक्रम ठप्प भएको थियो । गत वर्ष खोपको विकास भएसँगै यसको प्रयोग बढेपछि विस्तारै वैदेशिक रोजगारीको ढोका खुल्न थालेको हो । 



कोेरोना महामारी सुरु हुनुभन्दा अघि आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगार विभागबाट ४ लाख ७६ हजार ७०५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । यसअघि नेपालबाट वैदेशिक रोजगारीमा जान वर्षेनी चार देखि पाँच लाख जनाले श्रम स्वीकृति लिने गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

कोरोना महामारी सुरु भएपछि आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो । कोरोनाका कारण नेपालमा २०७६ चैत ११ गतेबाट लकडाउन सुरु गरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ६८ हजार ४३३ जनाले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका थिए । 

गत आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा जानेको संख्या झन् घटेको थियो । गत वर्ष मात्र १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए । 

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या मात्र घटेन यसले वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि वेरोजगार बनायो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)का अनुसार कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीमा गएका ५ लाख ७२ हजार ५७१ जनाले रोजगार गुमाई स्वदेश फर्केका छन् । उनीहरुलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको हो । 

वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा र भएकाले पनि रोजगारी गुमाउँदा नेपाल भित्रने रेमिट्यान्स समेत घटेको नेपाल राष्ट्र बैंकले जनाउँदै आएको छ । 
चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) नेपाल भित्रने रेमिट्यान्समा ६.८ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ । यो पाँच महिनामा नेपालमा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ११ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपाल भित्रने रेमिट्यान्स अमेरिकी डलरमा ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोडमा झरेको छ । अघिल्लो वर्ष यो ६.४ प्रतिशतले बढेको थियो । 

२०७८ साल सुरु भएपछि भने वैदेशिक रोजगारीमा जानेको संख्या क्रमैसँग बढ्दै गएको छ । यही गतिमा श्रम स्वीकृति लिनेको संख्या बढ्दै गए यो वर्ष नेपालबाट हालसम्मकै सबैभन्दा ठूलो संख्या वैदेशिक रोजगारीमा जाने पक्का छ । 

२०७८ साल सुरु भएयताको ९ महिनामा क्रमशः वैशाखमा २४ हजार ३६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४ र पुसमा ६६ हजार ६२५ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् । 

यस वर्ष वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्या उल्लेख्यरुपमा बढ्दा नेपाल भित्रने रेमिट्यान्समा पनि क्रमिकरूपमा सुधार आउने आशा गरिएको छ । यो वर्ष वैदेशिक रोजगारीमा गएकाहरुले गएको दुई वर्षमा जस्तो रोजगारी पनि गुमाएका छैनन्, जसले गर्दा नेपाल भित्रने रेमिट्यान्स बढ्ने विश्वासलाई थप मजबुत बनाएको छ ।

  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १०:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया