\
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएकी छिन् । पत्रमा उनले स्थानीय तह निर्वाचन कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै गर्नुपर्ने बताएकी छिन् । निर्वाचन आयोगलाई पनि निर्वाचन गराउने दायित्व सुम्पिनुपर्नेमा जोड दिएकी छिन् ।
शनिबार राष्ट्रपति भण्डारीले पठाएको पत्रमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार स्थानीय तहका पदाधिकारीको कार्यकाल समाप्त हुनु दुई महिनाअगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्दछ । त्यसैले जेठ ६ गते नयाँ जनप्रतिनिधिले कार्य आरम्भ गर्नुपर्दछ ।’
संविधान र ऐनले स्थानीय तह खाली हुने वा अधिकार अन्यत्र हस्तान्तरण हुने वा निर्वाचनबाहेकका विधिबाट स्थानीय तहलाई सीमित गर्ने परिकल्पना नगरेको उल्लेख गर्दै उनले भनेकी छिन्, ‘तसर्थ निर्वाचन आयोगलाई उसको तयारी बमोजिम निर्वाचन गराउने दायित्व सुम्पिनु नेपाल सरकारको दायित्व हो ।’
राष्ट्रपति भण्डारीले बिहीबार मात्रै प्रधानमन्त्री देउवासँग स्थानीय तह निर्वाचनबारे परामर्श गरेकी थिइन् । ५ जेठ, २०७९ अघि नै स्थानीय तह निर्वाचन हुनुपर्नेमा उनको जोड छ ।
निर्वाचन आयोगले पनि सरकारलाई मिति तोक्न आग्रह गर्दै आएको छ । यहीबीच सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।