युपिएफले प्रधानमन्त्रीलाई दिएको पुरस्कार क्याबिनेटले गर्यो अनुमोदन

काठमाडौं– एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पाएको सम्मानलाई सरकारले आधिकारिकता दिएको छ ।

विवादास्पद संस्थाले दिएको पुरस्कार लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको आलोचना भएको थियो । मन्त्रिपरिषद्बाट निर्णय नगरी पुरस्कार लिएकोमा पनि ओलीको आलोचना भएको थियो ।

विवादास्पद संस्थाले दिएको पुरस्कारलाई मंसिर १७ गतेको मन्त्रिपरिषद्ले आधिकारिकता प्रदान गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीले पाएको पुरस्कार राशि १ लाख अमेरिकी डलरमा अर्को १ लाख डलर थपेर प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको छ ।

शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्तिलाई उक्त कोषबाट पुरस्कार दिइने सरकारले बताएको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारको विधेयक बनाउने तयारीमा सरकार लागेको बताएका छन् ।

भिआइपीका लागि ५१ वटा सरकारी भवन

१७ गतेको मन्त्रिपरिषद् बैठकले ललितपुरको सैँवु र पुल्चोकमा भिआइपीका लागि ५१ वटा भवन निर्माण गर्ने निर्णय गरेको छ ।



सैँवुमा सांसद आवसका लागि छुट्याइएको जग्गामा राष्ट्रिय सभाका अध्ययक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीका लागि २७ वटा तथा प्रदेश प्रमुख र मुख्यमन्त्री अवास एवं सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय सरकारले गरेको छ ।

यसबाहेक, हाल मन्त्री निवास रहेको पुल्चोकमा १० वटा राजकीय अतिथिगृह निर्माण गर्ने निर्णय भएको छ । राजकीय अतिथिगृह निर्माणका लागि जग्गा अपुग भएमा नेपाल राष्ट्रिय पुस्तकालयको जग्गासमेत प्रयोग गर्ने निर्णय सरकारले गरेको छ । 



महाकवि देवकोटाको घर संग्रहालय

१७ गतेको मन्त्रिपरिषद् बैठकले नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय गरेको छ । २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको देवकोटाको घरलाई सरकारले मर्मत गरेर संग्रहालय बनाउने निर्णय गरेको हो ।

  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार १९:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया