काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बाग्मती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रुपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।
समितिले ती नदी किनारा छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना शनिबार (हिजो) जारी गरेको हो ।
मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्तिरहेका स्थान, स्थल, पार्क भन्दापनि नदी र सडकबीचको किनारामा अनधिकृत रुपमा बनेका अस्थायी तथा स्थायी संरचनाहरु हटाउन सार्वजनिक सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए । उनले आइतबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ती नदी किनारामा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले प्रवेश नपाएको स्पष्ट पारे ।
सूचना अधिकारी अर्यालले ती नदी किनाराका सुकुम्बासी बस्ती हटाउनका लागि उनीहरुको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भईरहेको पनि जानकारी दिए । समितिका अनुसार थापाथली बागमती किनारामा मात्रै १४५ घरधुरी सुकुम्बासीबस्ती छ । त्यो बस्ती हटाउने विषयमा त्यहाँका समिति, भूमि आयोग र सम्बन्धित निकायहरुसँग छलफल भइरहेको समितिले जनाएको छ ।
'आयोग र सम्बन्धित निकायसँग पनि हामी छलफलमा छौं, उहाँहरुको व्यवस्थापनका लागि । र, आयोगसँग समन्वय गरेर हामी अगाडि बढ्छौं । अहिले अनाधिकृत रुपमा बनेका नदी र सडकको बीचमा रहेका संरचनाहरु हटाउन जाँदैछौं’ उनले भने ।
सो समितिले यसअघि यस्तै प्रकृतिको सूचना सार्वजनिक गरेर गोकर्णदेखि गुह्येश्वरी नदी किनारामा अनधिकृत रुपमा बनेका २७ वटा संरचनाहरु हटाउने काम गरेको थियो । समितिका सूचना अधिकारी अर्यालले आजभन्दा १५ दिनअघि सो खण्डमा अनधिकृत रूपमा बनेका २७ वटा संरचना हटाउने काम गरिएको बताए ।
समितिले बागमती नदीको शौन्दर्यमाथि आँच आउने अनधिकृत रुपमा बनेका सबै संरचनाहरु सम्बन्धित पक्षसँग अनुमति लिएर, छलफल गरेर हटाउँदै जाने पनि स्पष्ट पारेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।