प्रधानमन्त्रीसँग भेटेर गण्डकी प्रदेशका मुख्यमन्त्रीले मागे थप बजेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।  

भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेशमा बजेट कमीले चालू आयोजना अगाडि बढ्न नसकेको, प्रदेश गौरवका आयोजना सुरु गर्न जग्गाका साथै रकम अभाव रहेकोलगायत विषय अवगत गराएका थिए । मुख्यमन्त्रीसँगै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल, र मन्त्री मणिभद्र शर्मा कँडेल पनि सहभागी थिए।

जवाफमा प्रधानमन्त्री देउवाले प्रदेशको समृद्धिका लागि सक्दो सहयोग गर्ने वचन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। साथै उनले सीमित स्रोत र साधनका बीच सरकार अगाडि बढिरहेको र सबै प्रदेशबाट बजेटको माग आएकाले हेरेर सक्दो बजेट दिने आश्वासन दिएका थिए । 

मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै प्रदेशको आन्तरिक आयमा समेत कमी आएको र संघीय सरकारबाट प्राप्त हुने अनुदानमा समेत कटौती हुँदा कतिपय आयोजना स्रोतको कमीले सम्पन्न गर्न चुनौती थपिएको उल्लेख गरेका छन् । 

प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतसँग पनि भेट गरेको थियो । 





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार २१:५९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया