कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक यही साताभित्र बस्छ : उपसभापति गुरुङ

नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक यही हप्ताभित्र बस्ने भएको छ । पार्टी उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरूको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यही हप्ताभित्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

उनले तत्काल महाधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेता, कार्यकर्तालाई सम्बोधन गर्दै सबै भातृ संस्था तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनलगायतका कार्यहरू सम्पन्न गर्न पार्टीका महामन्त्रीहरूले त्यसको प्रस्तावित विधानबारे छलफल गरिरहेका पनि जानकारी दिए ।

उपसभापति गुरुङले पार्टीका तत्कालीन केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको टोलीले भातृ संस्थाहरूको बारेमा तयार पारेको विधान प्रतिवेदनमाथि गहन छलफल गरेर सबै भातृ संस्थाहरूलाई गतिशील बनाउने गरी त्यसका महाधिवेशन लगायतका काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।  

‘कार्य सम्पादन समिति गठन गरिएको छ । ३७ सदस्यीय कार्य सम्पादन समिति गठन भयो । यो कार्य सम्पादन समितिको बैठक यही हप्ता भित्र बस्ने छलफल चलिरहेको छ । त्यसमा पहिलो एजेन्डा भातृ संस्थाहरु नेविसंघ, तरुण दल, महिला संघ, शुभेच्छुक सबै संस्थाहरूको बारेमा हामी गहन ढंगबाट लागेका छौं,’ सोमबार नेविसंघका विद्यार्थीसँग भएको भेटवार्तामा उनले भने, ‘भातृ संस्थाहरूको सन्दर्भमा कतिसम्म कुरा अघि बढेको छ भने तत्कालीन केन्द्रिय सदस्य एनपी साउदको संयोजकत्वमा भएको एउटा समितिले जुनजुन भातृ संस्थाहरुको बारेमा विधानको पनि प्रतिवेदन तयार पारेको थियो । त्यसको अध्ययन गर्ने काम महामन्त्रीहरूले गरिरहनु भएको छ । एक नम्बरमा भातृ संस्था, शुभेच्छुक संस्थाहरू भन्ने वित्तिकै नेविसंघ पनि परिहाल्यो । त्यसको बारेमा गहन छलफल गरेर अघि बढ्ने छौं ।’

कांग्रेस नेतृत्वमाथि पार्टीको विधान र संघीयताको भावनाअनुसार भातृ संस्थाहरूको विधान मस्यौदा भएपनि पार्टीले स्वीकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरू पुरानै विधानमा चलिरहेको आरोप छ । जसकारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटोभन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आवद्ध विद्यार्थीको माग छ । उपसभापति गुरुङले नेविसंघलगायतका भातृ संस्थाहरूको माग सम्बोधन गर्न पार्टी गम्भीर भएको बताए ।  





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १३:१७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया