नेविसंघको महाधिवेशनबारे केही दिनमै निर्णय हुन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनभित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् ।

महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताएका हुन् । उनले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

मंगलबार नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले नेवि संघभित्र देखिएको समस्या समाधान गर्ने काम सोही संगठनको भएको उल्लेख गर्दै पार्टीको तर्फबाट भने त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाई नहुने बताए ।

‘केही दिनभित्रै हामी निर्णय गर्छौं । र, त्यो निर्णयलाई सबै साथीभाइले त्यसलाई साथ दिएर नेपाल विद्यार्थी संघलाई अधिवेशनमा लिएर जाने वातावरण बनाइ दिनुहोस्, यति नै आग्रह गर्दछु । केन्द्रीय कार्य सम्पादन समितिमा भ्रातृ संस्था, शुभेच्छुक संस्था, यसमा एउटा एजेन्डा हुन्छ । त्यसको आधारमा निर्णय पनि हुन्छ । माघको १५/१६ मै निर्णय होस् भन्ने चाहन्थ्यौँ । कोभिडका कारण बैठक बस्न सकेन । अब कार्य सम्पादन बस्छ । सम्भवतः यही शुक्रबार बस्छ होला । त्यसबारे निर्णय हुन्छ,’ उनले भने ।

महामन्त्री थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसंघ भित्रकै समानान्तर गतिविधिका कारण यसको महाधिवेशन हुन नसकेको पनि स्मरण गराए । त्यसक्रममा नेविसंघका नेताले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दै महामन्त्री थापालाई अनुरोध पत्र बुझाएका थिए । 





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १७:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया