भुटान र तिब्बतबाहेक नेपालमा ९ देशका ७ सय शरणार्थी

काठमाडौं- नेपालमा भुटान र तिब्बतबाहेकका देशबाट पनि शरणार्थीको संख्या बढिरहेको तथ्यांकले देखाएको छ ।  सरकारले भुटानी र तिब्बतीलाई औपचारिक रूपमा शरणार्थीको मान्यता दिए पनि अन्य देशका नागरिक पनि शरणार्थीको रूपमा नेपालमा बसिरहेका छन् ।

गृह मन्त्रालयको तथ्यांकअनुसार नेपालमा म्यानमार, सोमालिया, अफगानिस्तान, कंगो, श्रीलंका, बंगलादेश, पाकिस्तान, इराक र इरानका नागरिक शरणार्थीको रूपमा बसिरहेका छन् ।

गृह मन्त्रालय शरणार्थी मामिलासम्बन्धी राष्ट्रिय इकाईका अनुसार भुटान र तिब्बतबाहेक अन्य देशका सात सय नागरिक शरणार्थीको रूपमा नेपालमा बसिरहेका छन् ।


पछिल्लो समय म्यानमारबाट रोहिग्या समुदायका मानिस शरणार्थीको रुपमा नेपाल भित्रिएका छन् । गृह मन्त्रालयका अनुसार म्यानमारबाट आएका ३ सय १४ जना शरणार्थीको रूपमा नेपालमा बसिरहेका छन् ।

अफ्रिकी देश कंगो र सोमालियाबाट आएर पनि नेपालमा शरणार्थीको रूपमा बसिरहेका छन् । सोमालियाका दुईजना र कंगोका २८ जना शरणार्थी नेपालमा बसिरहेको गृह मन्त्रालयले बताएको छ । 



नेपालले भुटानी र तिब्बतीबाहेक अन्य देशका नागरिकलाई शरणार्थी मान्यता नदिएकाले ती देशबाट आएकाहरूलाई सरकारले गैरकानुनी बसोवास गरिरहेका मानिसको सूचीमा राखेको छ । भुटानी र तिब्बतीबाहेक अरूलाई सरकारले शरणार्थीको मान्यता नदिए पनि संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चस्तरीय नियोगले भने शरणार्थी मान्यता दिएको छ ।  
 
सरकारले औपचारिक रूपमा शरणार्थी मान्यता दिएका भुटानी नागरिकलाई अन्य देशमा पठाइरहेको छ । सकारकाले अहिलेसम्म १ लाख १२ हजार ९ सय ६६ भुटानी शरणार्थीलाई अन्य देशमा व्यवस्थापन गरेको छ । १ लाख भुटानी शरणार्थीलाई अन्य देशमा व्यवस्थापन गरे पनि अझै साढे ६ हजारभन्दा बढी भुटानी शरणार्थी नेपालमै रहेको गृह मन्त्रालयको तथ्याकंले देखाएको छ । यता, १२ जिल्लामा रहेका तिब्बती शरणार्थीको संख्या भने १२ हजार ५ सय ४० रहेको छ ।
 



  • प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार ११:८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया